काठमाडौं, ४ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार नयाँ थपिने संक्रमितको बारेमा जानकारी गराइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १७४ जनामा कोरोना संक्रमण भेटिएको छ भने ललितपुरमा १८ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्ला दिनहरुमा संक्रमणको दर व्यापक रुपले बढेसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १५०० नाघिसकेको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ७०७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।