तेस्रो स्पार्क एड्भेञ्चर सुरु, सोलुखुम्बु–ओखलढुंगा पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं – सोलुखुम्बु र ओखलढुंगाको ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई उजागर गर्ने उद्देश्यसहित तेस्रो संस्करणको स्पार्क एड्भेञ्चर आजदेखि औपचारिक रूपमा सुरु भएको छ। कलाकार, उद्यमी, सामाजिक अभियन्तालगायत २०० बढी सहभागीको टोली काठमाडौंबाट सोलुखुम्बुको पात्तले गौरीटाप र ओखलढुंगाको रुम्झाटारतर्फ प्रस्थान गरिसकेको छ।

‘गेट वे टु एभरेस्ट’ भन्ने नारासहित वैशाख २८ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम अन्तर्गत विभिन्न सांस्कृतिक, पर्यटकीय र प्रवर्द्धनात्मक गतिविधिहरू आयोजना गरिनेछ।

कार्यक्रममा अभिनेता राजेश हमाल, क्याप्टेन विजय लामा, गायक राजु लामा, गायिका आस्था राउत, सुनिता दुलालजस्ता चर्चित व्यक्तित्वहरूको सहभागिता रहेको छ।

स्पार्क एड्भेञ्चरका निर्देशक सीताराम घिमिरेका अनुसार, सहभागीहरू विद्युतीय गाडी प्रयोग गर्दै दुईतर्फी यात्रा गर्नेछन्। ‘हरित यातायात’ र ‘दिगो पर्यटन’ को सन्देश बोकेको यो यात्रा पूर्वी नेपालका कम चर्चित गन्तव्यहरूलाई देश–विदेशमा चिनाउने प्रयास हो।

गौरीटाप समुद्री सतहबाट करिब ३ हजार मिटर उचाइमा अवस्थित धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो, जहाँबाट सगरमाथा, गौरीशंकर, मकालु, कञ्चनजंघाजस्ता विश्वका अग्ला हिमशृंखलाहरू नजिकैबाट अवलोकन गर्न सकिन्छ। यहाँ लालीगुँरासका दुर्लभ प्रजातिहरू, साथै प्राचीन मन्दिरहरू पनि छन्, जसले यसको धार्मिक महत्त्व झन् बढाउँछ।

स्पार्क एड्भेञ्चरले अघिल्ला वर्षहरूमा लमजुङको भुजुङ र शैलुङ क्षेत्रको पर्यटन प्रवर्द्धन गरिसकेको छ। यो संस्करणमार्फत ग्रामीण पर्यटनलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *