
सत्तारुढ दल नेकपाले पार्टीभित्रको द्वन्द्वका कारण महाधिवेशनको मिति तोक्न नसकिरहेको बेला प्रतिपक्षी नेपाली काँग्रेस भने महाधिवेशनको तयारीमा जुटेको छ । काँग्रेसले आगामी फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नेगरी गृहकार्य अगाडि बढाएको छ ।
यसपटकको महाधिवेशनमा काँग्रेसका हालका सभापति शेरबहादुर देउवा हटाउनेदेखि कोईराला परिवारमै पार्टीको नेतृत्व फर्काउनेसम्म कसरत भएको देखिन्छ । अर्कोतर्फ युवाको नेतृत्वमा नयाँ टिम बनाउनेदेखि भारतले पत्याउने पात्रलाई सभापति बनाउने सम्मको खेल शुरु भएको हल्ला पनि बाहिर आएको छ ।
हालसम्मको अवस्था हेर्दा तोकिएकै मितिमा महाधिवेशन हुने नहुने ग्यारेन्टी छैन । तर, भइहाल्यो भने यसपटक अर्को रोचक प्रसंग पनि देखापरेको छ । त्यो भनेको परिवारवाद मात्रै नभएर वंशजको आधारमा समेत सभापतिको दावेदारी ।
यसपटक सभापतिमा देउवा बाहेक पनि स्वर्गीय बीपी कोईरालापुत्र हालका महामन्त्री शशांक कोईराला, पूर्व महामन्त्री स्व.महेन्द्रनारायण निधिका पुत्र बिमलेन्द्र निधि र सर्वमान्य नेता स्व. गणेशमानसिंह श्रेष्ठका पुत्र प्रकाशमानसिंह श्रेष्ठ पनि सभापतिमा उम्मेद्वारी दिने तयारीमा छन् । त्यसो त पूर्व सभापति स्व.गिरिजाप्रसाद कोईरालापुत्री सुजाता कोईरालाले समेत सभापतिमा दावी गरिरहेकी छिन् ।
यी वंशजको आधारमा सभापति बन्न खोज्ने बाहेक पनि काँग्रेसमा नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, शेखर कोईराला, गोपालमान श्रेष्ठ, डा.रामशरण महत पनि सभापतिमै दावी गरिरहेका छन् । यी मध्ये पौडेल र सिटौला यसअघिको महाधिवेशनमा देउवासँग पराजित भएका हुन् ।
अझै अर्को रोचक पक्ष के पनि छ भने अघिल्लो पठक शशांक कोइरालासँग महामन्त्रीमा पराजित युवा नेता गगन थापाले पनि छुट्टै टिम बनाएर सभापति उठ्ने बताउँदै आएका छन् । उनको यो दावेदारी कार्यकर्ताको लागि खुशीको कुरा भएपनि गगन आफैं चाहिँ सभापति दावी गरेर बुढामध्यकै कुनै जित्नेवाला सभापतिको महामन्त्री हुन बार्गेनिङ गरिरहेको काँग्रेसवृत्तमा चर्चा छ ।
महाधिवेशन नजिक आउँदै गर्दा सभापतिमा दाबी गरेका मध्ये छिमेकी भारतले पनि काँग्रेसभित्र आफ्नो शक्तिको लबिङ गरिरहेको चर्चा छ । भारतले देउवालाई मन नपराउने भएकोले काँग्रेसमा भारतसँग घनिष्ट सम्बन्ध भएको र देउवालाई हराउन सक्ने पात्रको खोजी गरिरहेको चर्चा पनि बाहिर आएको छ । शेरबहादुर देउवालाई हराउन पनि सक्ने र छिमेकले पनि रुचाउने पात्रको खोजी भएमा विमलेन्द्र निधि काँग्रेस सभापतिमा बलिया उम्मेद्वार हुनसक्छन् । उनी पछि सिटौला र शशांक छिमेकी शक्ति केन्द्रको पनि रोजाईमा पर्ने उम्मेद्वार हुनसक्छन् ।
काँग्रेसमा हिन्दू धर्मको चर्चा पनि बेला–बेला उठ्ने गरेको कारण शशांक कोईराला सभापतिमा सम्भावना भएका पात्र हुन सक्छन् । उनले पछिल्लो समय भारतीय जनता पार्टीका नेताहरुसँग भेटघाट तीव्र बनाएको र नेपालमा हिन्दू राज्यको बहस चलाएको कारण पनि उनलाई सभापतिमा भारतले समर्थन गर्ने देखिन्छ ।
अबको महाधिवेशनमा युवाको नेतृत्व हुनुपर्छ भनेर सार्वजनिक रुपमा अभिब्यक्ति दिने प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल, धनराज गुरुङ, चन्द्र भण्डारी, बालकृष्ण खाँड, गुरु घिमिरे लगायत नेताहरु एकै ठाउँमा उभिने अवस्था नभएकोले सभापतिमा पुरानै अनुहारले बाजी मार्न सक्ने काँग्रेसकै नेताहरु बताउँछन् ।
तर, यसपटक नयाँ नेतृत्व ल्याउन नसकेपनि देउवा हटाउने अभियानमा चाहिँ काँग्रेसभित्र ठूलो जमात रहेको नेताहरुको भनाई छ । खासगरी पछिल्लो समय प्रधानमन्त्री केपी ओलीसँगको उठबस, सशक्त प्रतिपक्षी भूमिका निभाउन नसकेको, पार्टीमा मनलाग्दी निर्णग गरेको, भ्रष्ट र दलाललाई कार्बाही गर्न सरकारलाई दबाब नदिएको जस्ता आरोप लगाउँदै काँग्रेसका नेताहरु देउवा विरुद्ध उभिने भएका हुन् ।