बझाङ । बझाङ छविसपाथीभेरा गाउँपालिका–३ पाटागाँउ घर भएका हर्कबहादुर सिंह शिक्षकबाट अवकाश (रिटाएर) भएपछि अहिले व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
उनले आफ्नो जमिनमा मौसमी तथा बेमौसमी तरकारी लगाएर यहाँका नमुना किसानका रूपमा परिचित हँुदैछन् । उनले फलाएको तरकारी अहिले यस गाउँपालिका केन्द्र तथा स्थानीय बजारमा थुर्पै बिक्री हुने गरेको छ ।
गत वर्ष स्थानीय गाउँकै विद्यालयबाट निवृत्तिभरण भएका शिक्षक सिंहले गाँउमा केही उदाहरणीय काम गर्नुपर्छ भनेर तरकारी खेती अँगालेको बताए । उनले भने गाउँका मान्छेहरू कामकाज छैन रोजगारी छैन भनेर भौँतारिरहेका हुँदा उनीहरूलाई पाठ सिकाउन व्यावसायिक तरकारी खेती अँगालेको बताए । उनले अहिले तीन वटा टनेलमा बेमौसमी गोलभेँडा (टमाटर) फलाएका छन् ।
उनको बारीमा गोलभेँडा (टमाटर), भन्टा, सिमी, मुला, प्रशस्त फलेको देख्दा र तरकारीले बजार पाएर सिंहको परिवारले पैसा कमाएको देख्दा अरू परिवारलाई पनि गाउँ घरमै केही पेसा व्यवसाय गरे पैसा कमाउन सकिन्छ भन्ने उदाहरण भएको छविसपाथीभेरा गाउँपालिकाका अध्यक्ष कक्कल बहादुर धामीले बताए । अवकाश (रिटायर) शिक्षकले यस्तो मेहनत गरेर तरकारीमा अगुवाइ गर्दै गएपछि अहिले उनलाई स्थानीय तह तथा अन्य सङ्घ संस्थाले पनि तालिम तथा अन्य कृर्षी सामाग्री दिने गरेका छन् ।
शिक्षक पेसामा रहँदा पनि नमुना शिक्षकका रूपमा परिचित हर्कबहादुर सिंह पदबाट अवकाश (रिटाएर) हुँदा पनि नमुना किसान भएर काम गर्ने योजना भएको उनले बताए । उनले पहल गरेको व्यावसायिक तरकारी खेतीमा उनका घर परिवारले पनि सघाइरहेका छन् ।