नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १ सय १० पुग्यो

काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । बाँके, काभ्रे र मोरङमा १/१ जनाको मृत्यु भएको हो । थप ३ जनाको मृत्यु भएसंगै नेपालमा मृतकको संख्या पनि १ सय १० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षका पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

साउन ३० गते कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । भदौ १ गते सोमबार दिउँसो उनको कोरोना पोजेटिभ रिर्पोर्ट आएको थियो । उपचारकै क्रममा गएराति उनको मृत्यु भएको कोरोना फोकलपर्सन श्रेष्ठले पुष्टि गर्नुभयो । बाँकेमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको छ ।

यसैगरी काभ्रेको धुलिखेल नगरपालिकाका ९८ बर्षिय जेष्ठ नागरिकको धुलिखेल अस्पतालमा उपचारको क्रममा अहिले विहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । २०७७ साउन २७ गते कोरोना पुष्टी भए पछि धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । मृतक जेष्ठ नागरिकका बुहारी र छोरामा कोरोना पुष्टी भएको छ । दुबै जनाको काठमाडौमा उपचार भैरहेको छ । परिवारका अन्य सदस्यहरुको पनि कोरोना परिक्षण भईरहेको छ ।

यसअघि जिल्लामा पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ बर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौमा निधन भएको थियो । यसैगरी मोरङको विराटनगर स्थित कोशी अस्पतालको आईसोलेशनमा उपचार गराइरहेका कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।

मोरङको कटहरी वडा नं. १ का ४७ वर्षीय उनलाई आइतवार कोशी अस्पतालको आईसोलेशन वार्डमा भर्ना गरिएको थियो । उनको हिजो अपरान्ह मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले जानकारी दिनुभयो । उनमा ज्वरो, खोकी र श्वास प्रश्वासको समस्या देखिएपछि कोरोना विशेष उपचार केन्द्रमा लैजाने तैयारी गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु संगै कोरोनाबाट मृत्यु हुनेको संख्या मोरङमा ११ पुगेको छ ।-

 

 

 

Leave a Reply

Your email address will not be published.