उदयपुर, सामरिक महत्व बोकेको राष्ट्रिय गौरबको निर्माणाधीन ‘मदन भण्डारी स्मृति लोकमार्ग’ अन्तर्गत उदयपुरको सदरमुकाम गाईघाटका केही स्थानीयबीच भएको विवादका कारण सडक कालोपत्रेसहित फराकिलो गर्ने काममा ढिलाई हुने भएको देखिन्छ । बरुवा पुल पश्चिम पुरानो गाईघाट (पिजी) चौकको पिजीचोकको झन्डै ७० मिटर खण्डका ९–१० जग्गाधनी बीच विवाद भएपछि चौडा र कालोपत्रे गर्ने काममा ढिलाइ हुने संकेत देखिएको हो ।
लोकमार्गको गाईघाट पश्चिम र पूर्वतर्फ धमाधम काम भइरहे पनि बजार क्षेत्रको कालोपत्रे गर्ने काम बाँकी छ । सम्भावित विवादबाट बाच्न लोकमार्ग कार्यालयले बजारपूर्व र पश्चिमतर्फको कालोपत्रे सकेर मात्र बजारमा काम गर्ने निर्णय गरेको थियो । सोही अनुसार पूर्वतर्फ असारीदेखि बसाहासम्म र पश्चिम आँखा उपचार केन्द्रदेखि चुहाडे हुँदै कालीखोला चिसापानीसम्मको कालोपत्रे तिहार अघि नै सकिइ सकेको छ । अहिले पूर्वततर्फ निर्माणाधीन पुल एप्रोज र पुल बन्न बाँकी खोला आसपास बाँकी राखेर बसाहासम्मकै कालोापत्रे काम सकिइ सकेको छ ।
त्यस्तै पश्चिमतर्फ चुहाडे हुँदै कालीखोला चिसापानी, मुर्कुची हुँदै नेपालटारसम्मको कालोपत्रे सक्न लागेको छ । नेपालटारदेखि कटारी हुँदै सिन्धुली सीमानासम्मको स्तरोन्नति र ग्राबेलको काम धमाधम भइरहेको सडकको सदरमुकाममा भने सामान्य विवादले निकास नपाउँदा काम रोकिन पुगेको हो । पिजी चोकका केही स्थानीयले सडक आफूतिरबाट अर्का तिर धकेल्न खोज्दा विवाद सुरु भएपछि काम सरासर गर्न अबरोध पुगेको लोकमार्ग कार्यालयले जनाएको छ ।
लोकमार्ग कार्यालयले १४ मिटर कालोपत्रे र दुवैतर्फ नाला बनाउँदा १८ मिटर चौडा सडक बनाउने प्राविधिक स्टिमेट बनाएकामा त्रियुगा नगरपालिकाले बजार क्षेत्रमा २५ मिटर चौडा गर्ने निर्णय गर्दै माइकिङ गरेपछि विवाद उठेको हो । नगरपालिकाले कात्तिक सुरुमै माइकिङ गर्दै साता दिनभित्र घरटहरा हटाउन सूचित गर्दै अन्यथा नगरपालिकाले हटाउने र त्यसको जवाफदेही स्वयं हुनुपर्ने चेतावनी दिएपछि उठेको विवादमा लोकमार्ग कार्यालय, नगरपालिका र बजारबासी बीच भएको छलफलबाट २० मिटर कायम गर्ने सहमति भएको थियो ।
सहमति अनुुसार अधिकतर घरधनीले २० मिटरभित्र पर्ने संरचना हटाइसके पनि पिजी चोकमा सडक तलबाट लाने या माथिबाट भन्ने विवादले निकास ननिस्कदा कालोपत्रेको काममा बाधा खडा भएको स्थानीय बताउँछन् । लोकमार्ग जस्तो संवेदनशील विषयमा स्थानीयले विवाद नगरी सडक क्लियर गर्नुपर्ने पिजी चोकबासी डा कैलाश राई बताउँछन् । उनले मदन भण्डारी स्मृति लोकमार्ग गाईघाटबासीको भाग्य र भविष्यसँग जोडिएको विषय भएकाले धेरै विवाद नगरी सडक बन्न दिनु पर्ने सुझाव दिएका छन् ।
सडकका दायाँतर्फ ६ घर र बायाँतर्फ तीन घर गरी जम्मा ९–१० घर स्थानीयले पुरै सडक बन्न बाधा खडा गर्न नहुने अर्का स्थानीय मोहनसिंह तामाङको सुझाव छ । दुवैतर्फका घरधनी भने सडकले आफूलाई पीडित बनाउने तर्क गर्छन् । दायाँतर्फका युवराज बुढाथोकी पुरानो नापी अनुसार सडक बन्नु पर्ने अडानमा छन् भने उनीसँग बबरबहादुर थापा, रत्न श्रेष्ठ र हिराप्रसाद पोखरेल लगायत पनि सहमत छन् । २०२८ को नापी अनुसारको बाटोलाई नै सडकमा रुपान्तरण गरिएकाले सोही अनुसार सडक बन्नु पर्ने भन्दै उनीहरुले आफनो घरजग्गा मिच्न नदिने अडान उनीहरुको छ । पुरानो नक्सा अनुसार सडक बनाउने हो भने साविक भन्दा चार–पाँच मिटर बायाँतर्फ सडक विस्तार गर्नु पर्ने हुन्छ ।
यता बायाँतर्फका शिव कटुवाल र कविन्द्र राई लगायतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार सडक खन्नु पर्ने अडान राखेका छन् । उनीहरुका अनुसार डिपिआरले तय गरे अनुसार सडक साविक भन्दा पाँच–सात मिटर दायाँतर्फ विस्तार हुन जान्छ । दुवैतर्फको आ–आफनो अडानले निकास ननिस्कदा बजार जस्तो महत्वपूर्ण ठाउँको सडक कालोपत्रे हुने काममा ढिलाइ भइ रहेको स्थानीयको गुनासो छ । लोकमार्ग कार्यालयले नगरपालिकाले विवाद मिलाउनु पर्ने अडान लिएको छ भने उता नगरपालिकाले सबै जिम्मा लोकमार्ग कार्यालयलाई दिएर आफूले हात झिकेको जनाएको छ ।
त्रियुगा नगर प्रमुख बलदेव चौधरीले सडकको विषयमा २० मिटर बनाउने सहमति भएसँगै आफूले सबै जिम्मा लोकमार्ग कार्यालयलाई दिएको बताए । उनले बजार क्षेत्रको २.२ किलोमिटर खण्डमा २५ मिटर बनाउने निर्णय गरे पनि लोकमार्ग कार्यालय र स्थानीयको सहमति जुट्न नसक्दा २० मिटर कायम गर्ने सहमति भएको भन्दै बाँकी काम सबै सडकले गर्ने गरी छाडि दिएको बताए । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले पनि माइकिङ गरेदेखि नै बजारबासीले विरोध गरेकाले सबै काम सडक कार्यालयले गर्ने गरी जिम्मेवारीबाट नगरपालिकाले हात झिकेको बताए । ‘हामीले माइकिङ सुरु गर्ने बित्तिकै विरोधको आवाज आउन थाल्यो,’ थापाले भने, ‘त्यसपछि विवादित हुनु भन्दा लोकमार्ग कार्यालय आफैँले मिलाएर काम गरोस् भनेर हात झिक्यौं ।
लोकमार्ग कार्यालयका इन्जिनियर गोविन्द दुमरुले विवाद भन्दा पनि नगरपालिकाले बजार क्षेत्रको सडक फराकिलो बनाउने निर्णय गरेकाले २० मिटर भित्र बनेका घरटहरा क्लियरिङ गर्ने काम भइरहेको बताए । सडक दायाँबायाँका २० मिटरभित्र पर्ने घरटहरा घरधनी आफैंले भत्काउने क्रम चलि रहेको तर, पिजी चोककोबारे भने टुंगो लागि नसकेको उनले बताए । सडकको चौडाइबारे टुंगो नलागेका कारण अन्य ठाउँमा विद्युतका पोल गाडि सके पनि पिजीचोकमा तीनवटा पोल समेत गाड्न बाँकी रहेको बताउँदै नगरपालिकाले यसबारे छिटै निकास निकाल्नु पर्ने इन्जिनियर दुमरुले बताए । ईन्जिनियर डुमरुका अनुसार गाईघाट बजार क्षेत्रमा पनि सडकको मापदण्ड भने ३० मिटर रहेको जानकारी दिए । नगरपालिकाले २० मिटर भित्र काम गर्न आग्रह गरे पनि सडकको मापदण्ड भने ३० मिटर भएकोले ३० मिटर नै खाली गर्नु पर्दछ ।
दुमरुले लोकमार्गको उदयपुर खण्डको एक सय ४३ किलोमटिर मध्ये पूर्वतर्फ ४१ र पश्चिमतर्फ १६ किलोमिटर गरि ५७ किलोमिटर सडकमा कालोपत्रे भइसकेको बताए । इन्जिनियर डुमरुका अनुसार ५७ किलोमिटर सडकमा ६ सेण्टी मिटरको डिपीएमको कालो पत्रे गर्ने काम सकिएको भए तापनि त्यसमा ४ सेण्टी मिटरको वारिङ्ग कोष गर्न बाँकी रहेको जनाए । पिजीचोकको ७० मिटर खण्डमा टुंगो नलागिसके पनि पश्चिममा आँखा अस्पताल अगाडि सेतो पुलसम्म र पूर्वतर्फ असारीदेखि बरुवाखोला पुलसम्म काम धमाधम भइरहेको इन्जिनियर दुमरुले बताए ।
यता निर्माण कम्पनीका मेनेजर सिताराम शर्माले भने ६५ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भई सकेको जानकारी दिए । उनका अनुसार सडक निर्माणको भौतिक प्रगति ७० प्रतिशत आर्थिक प्रगति ६० प्रतिशत भएको बताए । मदन भण्डारी स्मृति सडक आयोजनाका प्रमुख ललिजंङ खनालले आयोजनाको काम संन्तोषजन रुपमा भई रहेको र तोकिएकै समयमा सकिने बिश्वास रहेको बताए ।