एटीएम ह्याकिङ प्रकरण : ६ चिनियाँ र ३ नेपाली नागरिक थुनामा

काठमाडौं, नेपालका ७ वटा बैंकमा भदौ दोस्रो साता भएको एटीएम ह्याकिङ प्रकरणमा संलग्न ६ जना चिनियाँ नागरिकलाई अदालतलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आदेशपछि काठमाडौं प्रहरीले पक्राउ गरेका चेन विक विन, क्यु याङयिङ, लु जियालिङ, लिन जिनमि र लिओ जाइलेई नख्खु कारागार चलान गरिएको छ ।

प्रकरणमा मुछिएका नेपाली नागरिक रोशनप्रसाद प्रधान र रेवती दुवाडीलाई २६ लाख रुपैयाँ र देवनाथ लामिछानेलाई ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ । तर, धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पनि थुनामा पठाइएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए ।

उनीहरुले प्रलोभनमा चिनियाँ नागरिकले ल्याइएको पैसा साटेको आरोप थियो । प्रहरीका अनुसार यो बैंक ह्याक भएपछि रकम चोर्दाचोर्दै अभियुक्त समातिएका घटना विरलै भेटिन्छन् । त्यसमध्येको यो प्रकरण पनि भएको प्रहरी बताउँछ ।

घटनामा अन्तर्राष्ट्रिय निकाय मास्टर कार्ड, भिसा कार्ड, युनियन पे इन्टरनेश्नल लगायतले पनि चासो देखाएको थियो । अनुसन्धानका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले पनि सहयोग गरेको थियो ।

यो समूहले १४ भदौमा करिब दुई करोड रुपैयाँ लुटेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *