नागढुंगा चेक प्वाइन्टबाट १६ किलो लागुऔषध चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान १ बजे र १० बजे चन्द्रागिरी नगरपालिका-२ को चेक प्वाइन्टमा धादिङबाट आउँदै गरेका दुई अलग बसबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-२ पालुङका ५१ वर्षीय प्रताप मोक्तान र वडा नम्बर ७ का सन्तोष खत्री छन्। मोक्तानले ल्याएको १४ किलो ५२० ग्राम र खत्रीले बोकेको १ किलो ९६० ग्राम चरेश बरामद गरिएको परिसरले जनाएको छ।
विभिन्न आकार प्रकारमा उनीहरूले चरेश ल्याएका थिए। दुवैलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत्त थानकोट पठाइएको परिसर प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।