‘साग’मा १८ हजार सुरक्षाकर्मी परिचालन, मंसिर १५ र २४ गते सवारीमा जोर–बिजोर

काठमाडौं, १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कम्तीमा १८ हजार सुरक्षाकर्मीले सुरक्षा व्यवस्था मिलाउने भएका छन् ।

साग प्रचार–प्रसार तथा प्रकाशन समितिले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा साग सुरक्षा समिति संयोजक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कम्तीमा १८ हजार सुरक्षाकर्मी परिचालन गरिने बताए ।

उनले काठमाडौं उपत्यकाभित्र १६ हजार र बाहिर दुई हजारको संख्यामा रहेका सुरक्षाकर्मीले सुरक्षा दिने जानकारी दिए ।

महानिरीक्षक खनालले सुरक्षा संवेदनशीलता हेरेर सादा पोसाकका सुरक्षाकर्मीहरुले निगरानी गरिरहने र आवश्यकतानुसार सुरक्षाकर्मी थप्न पनि सकिने बताए ।

उनले साग देशकै प्रतिष्ठा भएको भन्दै विदेशबाट आउने पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि खेल सकिएर विमानस्थलसम्मै पुर्‍याउने व्यवस्थाका क्रममा सबैलाई सुरक्षा प्रदान गरिने बताए ।

जोर–बिजोर प्रणाली

महानिरीक्षक खनालले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मंसिर १५ गते उद्घाटनका दिन र मंसिर २४ गते समापनका दिन काठमाडौं उपत्यकामा सवारी–साधनमा जोर–बिजोर प्रणाली लागू गरिने जानकारी दिए ।

१५ गते बिजोर र २४ गते जोर नम्बरप्लेटका सवारी–साधनमात्र चलाउन पाइनेछ ।

ट्राफिक व्यवस्थापन सहज बनाउन सकभर सवारीको प्रयोग कम गर्नसमेत उनले आग्रह गरेका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *