काठमाडौं, काठमाडौंका विभिन्न बैंकबाट रकम चोरी गर्ने गिरोहको साथबाट प्रहरीले ठूलो परिणाममा नागरिकताको प्रतिलिपी बरामद गरेको छ ।
आइतबार जनता बैंकबाट नक्कली हस्ताक्षरको प्रयोगबाट चोरिएको करिब २० लाख रुपैयाँबारे अनुसन्धानका क्रममा पक्राउ परेको समूहको साथबाट करिब दुई हजार नागरिकताको प्रतिलिपी बरामद भएको हो ।
काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले भने, ‘पक्राउ परेकाको कोठाबाट बरामद सामग्रीमध्ये दुई वटा बोरा खोल्न बाँकी थियो । त्यहाँ दुई हजार नागरिकताको प्रतिलिपी भेटियो ।’
बोगटीका अनुसार झण्डै उतिनै संख्यामा सर्वसाधारणको फोटो पनि बरामद भएको छ । चोरी गर्ने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले काभ्रेका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अञ्जन बराल, बाग्लुङका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरेलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
उनीहरुले सर्वसाधारणको नागरिकतालाई बैंकमा अर्काको नाममा भएको रकम निकाल्न प्रयोग गर्ने गरेका थिए । ठूलो परिणाममा नागरिकता कसरी चोरी गर्ने विद्यार्थीको समूहसम्म पुग्यो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बतायो ।
प्रारम्भमा कुनै बैंककै कर्मचारीको मिलेमतोमा ती कागजपत्र चोरी गर्ने गिरोहसम्म पुगेको हुनसक्ने आशंका गरिएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार आइतबार गोपालमान राजवाहकको खाताबाट पटकपटक गरेर १९ लाख ९९ हजार रुपैयाँ चोरी भएको छ ।
त्यस्तै, बुधबार साँझसम्म मुक्तिनाथ विकास बैंकबाट थप १० लाख रुपैयाँ पनि चोरी भएको पुष्टि भइसकेको छ ।
यसअघि बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेकालाई सार्वजनिक गर्दै २९० पाना नागरिकताको प्रतिलिपि बरामद भएको बताइएको थियो । त्यस्तै, ठूलो संख्यामा विभिन्न बैंकको चेक बुक पनि बरामद भएको बताइएको थियो ।
त्यस्तै, एनआईसी एसिया बैंकको एटीएम कार्ड ८२ वटा र विभिन्न बैंकका एटीएम ७ वटा पनि बरामद भएको प्रहरीले जनाएको छ ।