काठमाडौं, कालापानी क्षेत्रको नेपाली भू-भाग भारतले आफ्नो नक्सामा राखेको विषयले स्तब्ध भएको बताउँदै आमरण अनसन तोडेका डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुल्ला पत्र पठाएका छन्।
नेपाली भूभाग भारतीय पक्षले मिचेको विषयमा सरकारले गरेको निर्णयप्रति समर्थन जनाउँदै अनसन तोडको डा. केसीले मंगलबार भारतीय प्रधानमन्त्री मोदीलाई खुला पत्र पठाएका हुन्। पत्रमार्फत डा. केसीले सीमा मिचेर नेपालीहरुको आत्मसम्मानमा चोट नपुर्याउन भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
नेपाली भूभाग भारतको नक्सामा समेटिएको विषयले आफू स्तब्ध भएको पनि उनले उल्लेख गरेका छन्। ‘अहिले म नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि सत्याग्रहको अभियानमा छु। तर यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु,’ पत्रमा डा. केसीले उल्लेख गरेका छन्।
डा. केसीले भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको नभई अनादिकालदेखि ती भूभागमा बसिआएका मानिसहरुबीचको अन्तरंग सम्बन्ध भएको बताएका छन्।