काठमाडौंः रत्नपार्क र जमलको आकाशे पुलमुनि रहेको ट्राफिक आइल्याण्डमा वाटर फाउन्टेन बन्ने भएको छ। काठमाडौं महानगरपालिकाभित्रको ट्राफिक आइल्याण्डलाई खाली नराख्ने योजनासहित पानीको फोहोरा निर्माण गर्न लागिएको हो।
दुवै स्थान भित्रिने र बाहिरिने भएकोले बढी भिडभाड हुने भएकोले त्यसलाई आकर्षित गर्नको लागि पानीको फोहोरा निर्माण गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
प्रभु बैंकले दुवै पुलमुनि रहेको आइल्याण्डमा पानीको फोहोरा निर्माण गर्न लागेको हो। फोहोरा निर्माणको लागि काठमाडौं महानगरपालिका र प्रभु बैंकबीच चाँडै सम्झौता हुन लागेको काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्था विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले बताए।
उनका अनुसार दुई स्थानमा निर्माण हुन लागेको हो। महानगरको मध्यभागमा रहेकोले यसले समग्र उपत्यका र महानगरको आकर्षणलाई बढाउने उनको दाबी थियो। महानगरको ट्राफिक आइल्याण्डमा खाली नराख्ने योजनासहित पानीको फोहोरा निर्माण गर्न लागेको उनको भनाइ थियो। अन्य ट्राफिक आइल्याण्डमा फूल रोप्न थालसकेको उनले जानकारी दिए।
महानगरपालिकाले न्युरोड गेट अगाडिको ट्राफिक आइल्याण्ड र भृकुटीमण्डप अगाडिको आइल्याण्डमा फूल फूलाउन थालिसकेको छ। ‘हरियाली र सुन्दरतालाई महानगरले पहिलो प्राथमिकतामा राखेको छ,’ उनले भने,’ वृक्षरोपण देखि खाली भएको जग्गामा सबै फूल रोप्ने काम भएको छ।’
तीनकुनेको पार्क निर्माण प्रक्रिया पनि चाडै अगाडि बढाइने उनले बताए। तत्काल मुआब्जा विवाद नमिलेकोले निर्माण प्रक्रिया रोकिएको उनको भनाइ छ। मुआब्जा पाउँन बाँकी स्थानीय १५ परिवार जति छन,’उनले भने,’ मुआब्जाको दरभाउ नमिलेकोले विवाद मिल्न नसकेको हो।’