पोखरा-नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा पोखरामा दैनिक साढे पाँच करोड रुपैयाँको नयाँ नोट सटही हुने गरेको छ । नेपाल राष्ट्र बैंक पोखरा शाखाले गत शुक्रबारदेखि नयाँ नोट साट्न सुरु गरेसँगै दैनिक एक हजार ५० जना भन्दा बढीले ५ करोड ५० लाख भन्दा बढी नयाँ नोट सटही गर्दै आएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका सूचना अधिकारी रामकुमार कार्कीले बताए ।
उनका अनुसार गत सोमबार एक हजार ८० जनालाई ५ करोड ५६ लाख, मंगलबार एक हजार १ सय २७ जनालाई ५ करोड ६६ लाख र बुधबार पनि करिब १ हजार १ सय जनालाई ५ करोड ५० लाख भन्दा बढी नयाँ नोट साटिएको छ । बैंक तथा वित्तिय संस्था एवं आम सर्वसाधारणलाई राष्ट्र बैंकले हालसम्म नयाँ तथा सुकिला नोट गरी करिब ७० करोड सटही गरि सकेको कार्कीले बताए । उनका अनुसार २८ वटा राष्ट्रिय बाणिज्य बैंकले पोखराबाट २८ करोड २९ लाख ६० हजार, विकास बैंकले १५ करोड ४ लाख ५० हजार र ग बर्गका वित्तिय संस्थालाई १ करोड १७ लाख ८० हजार रुपैया सटही गरिएको छ ।
राष्ट्र बैंकले कास्कीसहित ८ जिल्लाका नोटकोषबाट समेत नयाँ तथा सुकिला नोट सटही गर्दैछ । पोखराबाट मात्रै करिब एक अर्ब २५ करोड नयाँ तथा सुकिला नोट सटही गर्ने योजना रहेको बैंकले जनाएको छ ।