आफूखुसी भाडा असुली

काठमाडौं : साना सवारीसाधनले यात्रुसँग दोहोरो भाडा असुली गरेको भेटिएको छ। दसैं मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फकर्ने यात्रुसँग साना सवारीले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने गरेका छन्।

बाराको निजगढका ममता बजगाई असोज ११ गते भाइको बिहेका लागि काठमाडौं आएकी थिइन्। उनले निजगढदेखि बल्खुसम्मको टाटा सुमोको ६ सय रुपैयाँ भाडा तिरिन्। बुधबार गाउँ फर्किन उनले एक हजार तिर्नुपर्‍यो। रौतहतका कल्पित चौलागाईंले गाउँको टिकट लिएनन्। रौटहतको टिकट लिँदा १२ सय रुपैयाँ तिर्नुपर्ने भएकाले उनी निजगढको गाडी चढे।

इन्जिनियरिङ अध्ययनरत चौलागाईले एक सय २० रुपैयाँ जोगाउन निजगढसम्मको गाडी रोजेको बताए। ‘बढी भाडा तिर्न मन छैन। तर टिकटका लागि बार्गेनिङ गर्दा गाडी प्याक भएको बताउँछन्। उनीहरूले मागे जति पैसा दिँदा भने गाडी चढाउँछन्।’ घर जाने मनसाय बनाएर बल्खु आइसकेकाले बाध्यताबस बढी पैसा तिरेर भए पनि यात्रा गर्नु परेको उनको गुनासो छ।

सरकारले दसैंको मुखमा यात्रु ठगिनबाट जोगाउन भन्दै असोज ५ गतेदेखि टिकट बुकिङ खुला गरेको थियो। ठूला बसले टिकट बुकिङ खुला गरे पनि साना गाडीले टिकट बुकिङ खुलाएका थिएनन्। यात्रुसँग बढी भाडा असुली गर्न साना गाडीले टिकट बुकिङ खुला नगरेको सार्वजनिक यातायात व्यवस्थापनका अभियान्ता रामबहादुर थापा बताउँछन्।

‘साना सवारीले यात्रुसँग बार्गेनिङ गर्न टिकट बुकिङ लिने गरेका छैनन्। बुकिङ लिँदा यात्रुलाई लागत मूल्यमै गन्तव्य पु‍र्‍याउनुपर्ने हुन्छ। दसैंमा घर जान झोला बोकेर आउने यात्रु भाडाका लागि झगडा गर्दैनन्’, थापाले भने, ‘यात्रुलाई जतिसक्दो छिटो घर जान हतार हुन्छ।’ भाडाका लागि बार्गेनिङ गर्दा गाडी नपाइने यात्रुमा मनोवैज्ञानिक त्रास रहने गर्छ। त्यसैले यात्रु बढी भाडा तिरेर गन्तव्य पुग्न बाध्य छन्।

दुबईबाट दसैं मनाउन घर फर्केका सोलुखुम्बुका रविन मगर पनि बढी भाडा तिररे गाउँ जाँदैछन्। ‘दुई वर्षपछि गाउँ जाँदै छु। दसैंमा घर आउँदा साथीभाइ तथा आफन्त भेट हुन्छ’, मगरले भने, ‘दुबईबाट नेपाल आउनुभन्दा काठमाडौंबाट गाउँ जान सास्ती छ।’ दसैंभन्दा अघि चाबहिलदेखि सोलुखुम्बुको टिकट १३ सय रुपैयाँ लाग्छ। तर, अहिले भने दुई हजार रुपैयाँ हातमा नपरेसम्म व्यवसायीले गाडी नै नदेखाउने उनको गुनासो छ।

दसैंमा ठगी रोक्न सवारी छुट्ने र टिकटको कारोबार हुने स्थानमा सादा तथा बर्दीमा प्रहरी खटाइएको छ। यात्रुले गुपगुप बढी रकम तिरेर यात्रा गर्ने भएकाले कारबाही गर्न कठिन भएको ट्राफिक प्रवक्ता रवीकुमार पौडेल बताउँछन्। यात्रुबाट बढी भाडा असुल्ने पाँच जनालाई कारबाही पनि गरिएको उनले बताए। ‘उजुरी परेका आधारमा सुनुवाइ गर्ने हो। टिकट कारोबार हुने सबै स्थानमा ट्राफिक प्रहरी खटाइएको छ’, पौडेलले भने, ‘कसैले बढी मूल्यमा टिकट बिक्री गरेको भेटेमा तत्काल कारबाही गछौं। यसको जानकारी यात्रुले दिनुपर्छ।’ उजुरी गर्ने यात्रुलाई लागत मूल्यमै सवारी चढाएर बढी भाडा लिने व्यवसायीलाई कारबाही गर्न ट्राफिक तत्पर रहेको उनले बताए।

टाटा सुमो मध्यतराई र पूर्वपहाडी जिल्लामा सञ्चालन भइरहेका छन्। हायस, माइक्रो पोखरा, नुवाकोट, चितवन, सिन्धुलीलगायत जिल्लामा चल्छन्। यी स्थानमा चल्ने साना सवारीले यात्रुबाट सरकारी दरभन्दा भाडा असुल गरिरहेका छन्।

सरकारले टिकट बिक्री हुने मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। यहाँ दूरी र भाडादरको सूची टाँसिएको छ। सहायता कक्ष नयाँ बसपार्क, कलंकी र बल्खु, चाबहिल स्वयम्भू, माछापोखरी, नागढुंगा, कोटेश्वर, गौशाला, सुन्धारा, पुरानो बसपार्क, फर्पिङ, सातदोबाटो र भक्तपुरको जगातीलगायत स्थापना गरिएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *