बागलुङ — विदेशिएका हुन् वा सहरबजार झरेकाहरू हुन्, दसैंका बेला गाउँमा आउने गरेका छन् । त्यसैले यतिबेला म्याग्दी र बागलुङका ग्रामीण क्षेत्रमा चहलपहल छ ।
बागलुङको गलकोट–६ का नरबहादुर खत्री सपरिवार जापान बस्छन् । दसैंको मेसो पारेर उनी घर फर्केका छन् । लामो समयदेखि विदेशमा बसे पनि दसैंलाई गाउँमै मनाउने निधो गरेर उनी आएका हुन् । उनको गाउँका धेरैजसो जापानमा छन् । केहीले सल्लाह गरेर गाउँमा रमाइलो गर्ने भन्दै बिदा लिएर आएको उनले बताए । तिहारसम्म बस्ने योजना बनाएका खत्रीसहितका युवा गाउँ पुगेर पिङ बनाउने तयारीमा छन् । ‘दाइहरू आउनु भएको छ । निकै खुसी र रमाइलो लाग्यो,’ हरिचौरकी सरिता खत्रीले भनिन्, ‘युवा नभएकाले गाउँ उजाड जस्तै थियो, थोरै भए पनि रमाइलो थपियो ।’ युवाले दसैंलाई भए पनि गाउँमा मनाउने योजनामा आउँदा बूढाबूढी पनि खुसी भएका छन् ।
बरेङ गाउँपालिका–१ का रामप्रसाद ढकाल पनि भारतबाट घर फर्केका छन् । १६ वर्षको उमेरमै भारत छिरेका उनी अहिले ४० का भए । पछिल्लो पटक ५ वर्षपछि मात्र घर आएका उनले गाउँमा गरेको रमाइलो पलको याद आएको बताए । ‘पहिला तन्नेरीहरू मिलेर सरसफाइ गर्ने, बाटोघाटो बनाउने गरिन्थ्यो,’ उनले भने, ‘अहिले त्यस्तो छैन, भएका गोरेटा डोजरले मिचेको रहेछ ।’ भित्री बस्तीसम्म सडक लगिएको राम्रो भए पनि व्यवस्थापन नभएर अलपत्र परेको देख्नुपर्दा नराम्रो लागेको उनले बताए । बसाइँ सराइ र विदेश पलायनले ग्रामीण बस्ती खाली जस्तै छन् । यतिबेला भने दसैं लक्षित गरी विदेश र देशकै विभिन्न स्थानमा बसाइँ गएका तथा पेसा, व्यवसायमा लागेकाहरू फर्किन थालेकाले केही चहलपहल सुरु भएको छ । ‘छोराबुहारी विदेश छन्, केटाकेटीहरू र हामी बूढाबूढी मात्र गाउँमा छौं । के रमाइलो हुनु,’ गलकोट–५ का तुलसी निउरेले भने, ‘एकाध युवा आउँदा पनि रमाइलो मान्नुपर्ने भएको छ ।’ दसैंमा धेरै भेला भएर कोतघरमा रमाइलो गरेको र गाउँ सफाइ गरेको उनले स्मरण गरे । अहिले सरसफाइका लागि नगरपालिकाको बजेट विनियोजन गरेर ल्याउँदा पनि राम्रो नभएको उनको टिप्पणी छ ।
दसैंको चहलपहल बढेपछि गाउँ जाने गाडीहरू खचाखच देखिन थालेका छन् । वर्षा अझै जारी रहँदा सडक भने बिग्रिएका छन् । अप्ठ्यारो बाटो भए पनि यात्रीको चापले कोचिएर घर जान बाध्य भएको जैमिनीकै मोतीप्रसाद शर्माले बताए ।