काठमाडौँ, १६ असोज । निर्वतमान सभामुख कृष्णबहादुरलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउने महिला र उनका श्रीमानबीच सम्बन्धबिच्छेदको सहमति भएको छ ।
संसद सचिवालयमा कार्यरत महिला रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीबीच डिभोर्स गर्ने सहमति भएको हो ।
राेशनीका श्रीमानले सामाजिक संजाल फेसबुकमा कानुनी रुपमै श्रीमान-श्रीमतीको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका छन् । रोशनी र चित्रजंगबीच २८ वर्ष पहिले बिहे भएको थियो ।
महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनमा दिइसकेका छन् । तर, पछिल्लो समय आरोप लगाउने शाहीले महराले आफूलाई दुर्व्यवहार नगरेको भन्दै उनीविरुद्ध उजुरी दिन अस्विकार गरेकी छन् ।
आजैका मितिदेखि दुईजनाबीच छुट्टाछुट्टै बस्ने सहमति भएसँगै यो महरा प्रकरण नयाँ मोडमा पुगेको छ ।
उनीहरुबीच सम्बन्ध बिच्छेदको प्रक्रिया अघि बढ्नुमा विभिन्न फ्याक्टरले काम गरेको जानकारहरु बताउँछन् ।
महरासँगको सम्बन्धको विषय सार्वजनिक भएपछि चित्रजंगलाई रोशनीसँगको सम्बन्ध अन्त्य गर्न परिवार र आफन्तको दबाबले पनि काम गरेको हुनसक्ने बताइएको छ ।
यस्तै, महराको आफन्त र निकटस्थहरुले रोशनीलाई सहमतिमा ल्याउन चित्रजंगलाई दबाब दिँदा परेको मानसिक पीडा, रोशनीको दिनैपिच्छेका विवादित बयानबाजीले निम्त्याएको अफ्ठेरो लगायतका कारण पनि उनीहरु छुट्टिने निर्णयमा पुगेको हुनसक्ने बताइन्छ ।
यसैगरी, २८ वर्षदेखिको गुपचुप सम्बन्ध खुलासा भएपछि व्यक्तिगत र मानसिक रुपमा दुवै जनामा परेको क्षतीले पनि उनीहरु सम्बन्ध विच्छेदको निर्णयमा पुगेको हुन सक्ने जानकारहरु बताउँछन् ।
तर, यसको तथ्य कारण भने खुलेको छैन । रोशनी र चित्रजंग दुवैले यसलाई खुलाउन चाहेका छैनन् । बरु चित्रगंजले सामाजिक सञ्जाल फेसबुमा यस विषयको जानकारी गराउँदै लेखेका छन्,, ‘हामी २८ बर्षसम्म सँगसँगै दिन बितायौँ र समयको गति सँगै अलग हुने निर्णयमा पुगेका छौँ । धन्यवाद शुभचिन्तकहरूमा ।’