देशभर डेंगु रोगको त्रास फैलिरहेको अवस्थामा जुम्लामा पनि त्यसको जोखिम हुनसक्ने भन्दै चिकित्सकहरुले चेतना अभिबृद्धिको लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
जुम्लाका एक नगरपालिका, सातवटा गाउँपालिका र स्वास्थ्य शाखासँग समन्वय गरी गाउँघरमा चेतनामुलक कार्यक्रम गरिने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
जिल्ला स्वास्थ्य कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, गाउँपालिका स्वास्थ्य शाखाले विशेष जोड दिएर डेंगु नियन्त्रणका लाग्नुपर्ने प्रजिअ बञ्जाडेको भनाई छ । डेंगु नियन्त्रणका लागि हुने विभिन्न कार्यक्रमको जिल्ला प्रशासनले आवश्यक समन्वय गर्ने उनले बताइन् ।
हालसम्म जुम्लामा डेंगुका विरामी फेला नपरेपनि छिमेकी जिल्लाहरुमा संक्रमण भइसकेको र जुम्लामा पनि जोखिम रहेकोले चेतनामुलक कार्यक्रम गरिनुपर्ने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए ।