काठमाडौं उपत्यकाको सांस्कृतिक परिचय र जीवन्त चालचलनको प्रशंसा गर्दै विदेशी नगरका मेयर र प्रतिनिधि स्वदेश फर्किएका छन् । चीनको ल्हासा नगरका मेयर गुहेओ गुहेआ चाइना एअरलाइन्सबाट बिहान ११ बजे र भारतको उत्तरदिल्ली नगरका मेयर सरदार अभतार सिंह एअर इन्डियाबाट बिहान १० बजे स्वदेश फर्केका छन् ।
लान्जाउ कमिटी अफ द सिपिपिसिसीका उपाध्यक्ष ज्याङ सिओहाङ साझ ५ बजेर २५ मिनेटमा एयर चाइनाको विमानबाट फर्किएकी छिन् । बिदा भएर जाने मेयर तथा प्रतिनिधिलाई महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले बिदाइ गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेका अनुसार भुटानको थिम्पु नगरका मेयर बिहीबार फर्कनेछन् । बाँकी सबै प्रतिनिधि मण्डल सोमबार बेलुका फर्किएका छन् ।
इन्द्रजात्रा अवलोकन गर्न महानगरको निमन्त्रणामा पाँच देशका ११ वटा नगरबाट चारजना मेयरसहित विदेशी पाहुना आएका थिए । चीनको गुहेओ गुहेआ, चीनकै लान्जाउ कमिटी अफ द सिपिपिसिसीका उपाध्यक्ष ज्याङ सिओहाङ, भारतको उत्तरदिल्ली नगरका मेयर सरदार अभतार सिंह, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जेसहितका अधिकारी थिए ।
स्वदेश फर्कंदै गर्दा ल्हासाका मेयर गुहेआले भने, ‘जात्रामा कसैले नबोलाई यति धेरै मानिस भेला भएको देख्दा मलाई धेरै आनन्द महसुस भयो । जात्रा हेरिसकेपछि मलाई फेरि नेपाल आउने इच्छा जागेको छ । म मेरा नगरवासीलाई जात्राको रमाइलो सुनाउँछु ।’ उत्तर भारतका मेयर सरदार अभतार सिंहले काठमाडौंका जनता धेरै खुसी भएको बताउँदै यो खुसी हेर्न समय मिलाएर फेरि आउने बताए ।
चीनको सियान, छेन्दु, सेन्जेन, नान्जिन र लान्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आएको थियो । इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न महानगरले भगिनी सम्बन्ध भएका सबै सहरका मेयरलाई निम्ता गरेको थियो ।