मेलम्ची खानेपानी आयोजना : ६ महिनामा पानी काठमाडौं झारे ठेकेदारलाई १०% बोनस

सरकारले मेलम्चीको पानी साढे ६ महिनामा काठमाडौंमा झारे ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने गरी सम्झौता गर्दै छ । चाँडो पानी ल्याउन मेलम्ची खानेपानी विकास समितिले आयोजनाको हेडवक्र्स निर्माण र सुरुङ फिनिसिङको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोसँग बोनस सम्झौता गर्न लागेको हो ।
सरकारी घोषणालाई पूरा गर्न समितिले ठेकेदार कम्पनीलाई बोनस दिने गरी सम्झौता गर्न लागेको आयोजना प्रमुख सूर्यराज कँडेलले बताए । चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा सरकारको नीति तथा कार्यक्रममै छ । ‘चाँडोभन्दा चाँडो पानी काठमाडौं ल्याउन हामीले बोनससहितको सम्झौता गर्न लागेका हौँ,’ कँडेलले भने, ‘पानी ल्याउन सिनो हाइड्रोलाई १० महिना समय दिइएको छ । तर, साढे ६ महिनामा पानी ल्याए १०% बोनस पाउँछ ।’
सिनो हाइड्रोले सुरुङ फिनिसिङको ठेक्का ७५ करोडमा लिएको हो । साढे ६ महिनामा पानी ल्याए यो ठेक्काबाट उसले १० प्रतिशत अर्थात् साढे सात करोड बोनस प्राप्त गर्नेछ । त्यस्तै, ९० करोडमा ठेक्का लिएको हेडवक्र्सको कामबाट नौ करोड बोनसबापत पाउने मेलम्ची खानेपानीले जनाएको छ ।
एक साताभित्रै सम्झौता
सिनो हाइड्रोसँग आयोजनाको ठेक्का सम्झौता एक साताभित्रै हुने समितिले जनाएको छ । ‘हामीले पानी ल्याउने र पूरै काम सक्ने गरी कामलाई दुई फेजमा बाँडेका छौँ,’ कँडेलले भने, ‘पानी ल्याउने कुरामा हेडवक्र्सले कुनै असर गर्दैन । पानी ल्याउने र हेडवक्र्सको काम पनि गरिरहने हो । सुरुङका केही काम पनि पछि गर्न मिल्छ ।’
समितिका अनुसार सुरुङ फिनिसिङको काम चार सय मिटर र ढलान गर्न आठ सय मिटर बाँकी रहेको समितिले जनाएको छ । हेडवक्र्सको काममा पानी डाइभर्ट गर्न मिल्ने स्ट्रक्चर बनेको र बाँकी पानी ल्याएपछि पनि गर्न मिल्नेछ । पाँच गेटमध्ये एउटा हालिसकिएको र एउटाको आधा काम भइसकेको छ ।
अब तीन गेट हाल्न बाँकी रहेको छ । विनाअवरोध काम भए साढे ६ महिनामा पानी ल्याउन असम्भव नभएको कँडेलले बताए । भुक्तानी माग गर्दै आन्दोलन गरिरहेका मजदुर र आपूर्तिकर्तासँग सम्झौता भइसकेकाले काममा अवरोध हुने सम्भावना पनि कम रहेको समितिले जनाएको छ ।
२४ करोडका आठ ठेक्का
सामान आपूर्तिका लागि करिब २४ करोडका ८ टेन्डर भइसकेका छन् । ‘आयोजना छोडेर हिँडेको इटालियन कम्पनी सिएमसीले अर्डर गरेका सामान आइसकेका छन्, हामी तिनै सामान प्रयोग गर्छौँ,’ कँडेलले भने, ‘भुक्तानी गर्न मात्रै बाँकी छ ।’ आयोजनाले दसैँअघि नै फिल्डमा काम सुरु भइसक्ने जनाएको छ ।
यांग्री र लार्कीको ठेक्का यसै वर्ष
यांग्री र लार्कीको पानी ल्याउन पनि यसै वर्ष टेन्डर हुने भएको छ । यो मेलम्ची आयोजनाकै दोस्रो चरणको काम हो । आयोजनाको लगानीकर्ता एसियाली विकास बैंकले मेलम्चीको पानी काठमाडौं नल्याई दोस्रो आयोजनामा लगानी नगर्ने सर्त राखेपछि यो वर्ष मेलम्चीको पानी ल्याउने र दोस्रो आयोजना अघि बढाउने समितिको तयारी छ ।
‘आवश्यक डिजाइनको काम भइसकेको छ । यही वर्ष टेन्डर हुने सम्भावना छ,’ कँडेलले भने, ‘दोस्रो आयोजनामा ११ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ ।’ समितिका अनुसार दोस्रो आयोजनाको लागत करिब २५ अर्ब छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *