पर्सामा आत्महत्या गर्नेको संख्या बढ्दो

पर्सामा केही वर्षयता आत्महत्याका घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको पछिल्लो तीन वर्षको तथ्यांकअनुसार जिल्लामा आत्महत्या गर्नेको संख्या बर्सेनि बढिरहेको देखिन्छ । आत्महत्याका घटनामा वृद्धि हुनुमा जीवनप्रति चरम वितृष्णा, मानसिक तनाव, निराशा, असफलता, अवैध यौन सम्बन्ध र युवापुस्तामा सामाजिक सञ्जालको गलत प्रभावजस्ता कारण रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार आव ०७३/७४ मा जम्मा ७१ जनाले आत्महत्या गरेका थिए । ३७ महिला, २५ पुरुष, ६ किशोर र तीन किशोरीले विभिन्न ढंगले आत्महत्या गरेका थिए । ०७४/७५ मा ६८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । यसमा ३०–३० पुरुष र महिला, पाँच किशोरी तथा तीन किशोर छन् । ०७५/७६ मा आत्महत्या गर्नेको संख्या बढेर ७७ पुगेको प्रहरीको तथ्यांक छ । यसमा ३३ पुरुष, ३२ महिला, १० किशोरी र दुई किशोर छन् ।
दुई महिनामै २२ जनाद्वारा आत्महत्या
चालू आव ०७६/७७ को दुई महिना अवधिमा पर्सामा २२ जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेमा नौ महिला, ६ पुरुष, पाँच किशोरी र दुई किशोर रहेको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।
पछिल्लो समय प्रेममा असफलताका कारण पर्सामा आत्महत्या गर्ने क्रम बढ्दै गएकोे देखिएको छ । किशोरावस्थामा हुने प्रेमका कारण धेरै आत्महत्याका घटना हुने गरेको एसपी शर्माले बताए । ‘पारिवारिक कलह, आर्थिक विपन्नता, तनाव, लागुपदार्थको दुव्र्यसन, डिप्रेसनजस्ता कारणले पनि आत्महत्याको संख्या बढ्दै गएको छ,’ एसपी शर्माले भने, ‘आत्महत्या गर्नेमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको अनुसन्धानले देखाएको छ ।’
मानसिक तनावमा वृद्धि
सबै उमेर समूहका मानिसमा डिप्रेसनको समस्या बढ्दै गएको वीरगन्जका मानसिक रोग विशेषज्ञ डा. भरत गोइतले बताए । ‘म आफैँले पनि दैनिक २५–३० जना मानसिक रोगका बिरामीको चेकजाँच गर्दै आएको छु,’ उनले भने, ‘प्रेमसम्बन्धमा असफलता, कुलत र पारिवारिक स्नेहमा कमीका कारण पनि मानिसमा मानसिक समस्या बढ्दै गएको देखिन्छ ।’ उनले अभिभावकको लापरबाहीले पनि किशोर–किशोरीमा मानसिक समस्या बढ्दै गएको बताए ।‘समाज र परिवारबाट लगाव घट्दै जानु र सामाजिक व्यवस्थाप्रतिको चरम निराशाका कारण पनि मानिसमा डिप्रेसन बढ्दै गएको छ,’ गोइतले भने ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *