उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले बालअधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन समस्या भइरहेको बताएका छन् । राष्ट्रिय सभागृहमा बालदिवसको अवसरमा आयोजित कार्यक्रममा उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न सामाजिक संघसंस्थासँग सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बालबालिकाका क्षेत्रमा कार्यरत संघसंस्थालगायत सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो । आइतबार विभिन्न कार्यक्रम गरी बालदिवस मनाइएको छ । ‘सुनिश्चित बालअधिकार, समृद्ध नेपालको आधार’ नाराका साथ दिवस मनाइएको हो ।
बाल नगरसभाको अभ्यास
ललितपुर महानगरले नमुना बाल नगरसभाको अभ्यास गराएको छ । महानगरको सामाजिक विकास समितिका संयोजक एवं ललितपुर महानगरपालिका–२४ का अध्यक्ष दिनेश कार्कीका अनुसार बालबालिकाको नेतृत्व क्षमता विकास गर्ने, स्थानीय विकास निर्माणको प्रक्रियामा सुसूचित गर्ने र स्थानीय सरकारको अधिकार र कर्तव्यको विषयमा सचेत बनाउने उद्देश्यले बाल नगरसभा गरिएको हो ।
उनले भने, ‘बालबालिका भविष्यका कर्णधार मात्रै होइनन्, उनीहरू वर्तमानका साझेदार पनि हुन् । त्यसैले स्थानीय सरकारको काम कर्तव्य, योजना निर्माण प्रक्रिया र नयाँ राजनीतिक संरचनाका विषयमा बालबालिकालाई बुझाउन कार्यक्रम आयोजना गरिएको हो ।’
नीति तथा कार्यक्रम र बजेट प्रस्तुत
नमुना बाल नगरसभामा नमुना उपमेयर युशा शाक्यले तीन करोड ४५ लाख ७५ हजारको बजेट प्रस्तुत गरेकी छिन् । बजेटमा स्वास्थ्य सेवा सुरक्षित गर्ने, गुणस्तरीय शिक्षा, लैंगिक समानता, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, पछाडि परेका समुदायको विकास, आवश्यकता, बालबालिकामाथि हुने विभेद न्यूनीकरणलगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।