काठमाडौं- चिकित्सा शिक्षाका विषयमा विभिन्न १७ बुँदे माग राखेर आन्दोलनमा उत्रेको चिकित्सा शिक्षा संघर्ष समितिले आगामी १८ गतेदेखि मेडिकल कलेजहरुको शैक्षिक र प्रशासनिक कार्य ठप्प पार्ने चेतावनी दिएको छ।
समितिले राजधानीमा एक कार्यक्रम गरी माग पुरा गर्न एक साताको समयसिमा दिएको हो। उक्त अवधिमा पनि माग पुरा नभए अस्पतालको सेवामा असर नपर्ने गरी शैक्षिक र प्रशासनिक काम ठप्पा पार्ने निर्णय भएको समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए।
समितिले आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्रालय, विश्वविद्यालय, मेडिकल काउन्सिल, नेपाल चकित्सक संघ र विभिन्न मेडिकल कलेजका विद्यार्थी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा धर्मकान्त बास्कोटाले शैक्षिक कार्यक्रम ठप्पा नपारी विद्यार्थीलाई वार्ता र छलफलबाट नै समस्या समाधान गर्न आग्रह गरे। उनले चिकित्सा शिक्षाको सुधारका लागि सबै एकजुट भएर लाग्न पनि आग्रह गरे।
नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले चिकित्सा शिक्षा सुधारका लागि संघ निरन्तर लागिरहेको र आगामी दिनमा पनि लागिनै रहने जानकारी दिए।
शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले विद्यार्थीका मागका विषयमा छलफल गर्न मन्त्रालय तयार रहेको जानकारी दिए।