बैंकहरुले घटाए निष्क्रिय कर्जा, सानिमा बैंक अगाडि

४ भदौं, काठमाडौं । मुलुकमा सञ्चालित ‘क’ वर्गका २८ वटै बैंकले निष्क्रिय कर्जा घटाउदै लगेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा ०.१० प्रतिशतले निष्क्रिय कर्जा घटाएका छन् ।

बैंकहरुको औसत निष्क्रिय कर्जा दरमा पनि सुधार भएको छ । आव २०७४/०७५ को १.४५ औसत निष्क्रिय कर्जा घटेर २०७५/०७६ को अन्त्यमा १.३५ मा झरेको छ ।
बैंकले ९० दिनपछि पनि उठाउन नसकेको ऋण खराब कर्जा हो । यस्तो ऋण सम्भव भएसम्म धितो लिलाम गरेर उठाइन्छ । कुनै बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । तथ्यांकले वाणिज्य बैंकहरु जोखिम मुक्त भएको देखाउँछ ।

सात वर्षदेखि सानिमाको ‘वर्चश्व’

आर्थिक वर्ष २०७५/०७६ मा सबभन्दा कम निस्कृय कर्जा सानिमा बैंकको देखिएको छ । सानिमा बैंकको खराब कर्जाको हिस्सा ०.०८ प्रतिशत रहेको छ । आव २०७४÷०७५ मा यो बैंकको निस्कृय कर्जा ०.०३ प्रतिशत मात्र थियो ।

आव ०७५/७६ मा मात्र होइन सात वर्ष अघिदेखि निस्कृय कर्जा कम हुने बैंकहरुको पहिलो नम्बरमा सानिमा देखिएको छ । २०७० को असार मसान्तमा सानिमाको निस्कृय कर्जा ०.०३ प्रतिशत थियो । त्यसबेला कृषि विकास बैंकको सबभन्दा धेरै ५.७२ प्रतिशत निस्कृय कर्जा थियो ।

सानिमा बैंकको निष्क्रिय कर्जा २०७१ असार मसान्तमा ०.०२, २०७२ असार मसान्तमा ०.०७, २०७३ असार मसान्तमा ०.०२ र २०७४ मा ०.०१ प्रतिशत थियो । २०७४ असार मसान्तमा सबभन्दा न्युन बिन्दूमा पुगेको सानिमाको निस्कृय कर्जा ०७५ असार मसान्तमा झिनो वृद्धि भएर ०.०३ र २०७६ असार मसान्तमा ०.०८ प्रतिशत पुगेको छ ।

०७५/७६ मा खराब कर्जा कम हुने सूचीको दोस्रो नम्बरमा स्टाण्डर्ड चार्टड बैंक छ । स्टाडर्ड चार्टर्डको निस्कृय कर्जा ०.१५ प्रतिशत देखिएको छ । आव ०७४/७५ मा ०.१८ प्रतिशत रहेको यो बैंकको निष्क्रिय कर्जा ०.१५ प्रतिशतले घटेको छ ।

खराब कर्जा कम हुने सूचीको तेस्रोमा एभरेष्ट र चोथौ नेपाल एसबीआई बैंक छ । एभरेष्टको खराब कर्जा ०.१६ प्रतिशत र नेपाल एसबीआईको ०.२० प्रतिशत छ । त्यस्तै, ०.३७ प्रतिशत निक्रिय कर्जा रहेको माछापुच्छ्रे बैंक यो सूचीको पाचौं नम्बरमा देखिन्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *