छिमेकी मुलुक भारतसँग मात्र नेपालको ८ खर्ब ५५ अर्ब रुपैयाँको व्यापारघाटा रहेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १४ अर्ब १८ अर्ब रुपैयाँ बराबरको आयात भएको निर्यात भने ९७ अर्ब रुपैयाँको भएको छ । सो अवधिमा आयातित वस्तुमध्ये ६४.७ प्रतिशतका दरले मुलुकमा भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोडको वस्तु आयात गरेको थियो । नेपालले ६२ अर्ब ७३ करोडको वस्तु भारतमा निर्यात गरेको थियो । गत वर्ष नेपालले भारतसँग मात्रै आठ खर्ब ५५ अर्ब १९ करोडको व्यापारघाटा व्यहोरेको छ । छिमेकी मुलुक भारतसँग मुलुकको व्यापारघाटा सवै भन्दा धेरै रहेको छ ।
मुलुकमा बढ्दै गएको व्यापारघाटा कम गर्नका लागि सरकारले राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बढ्दो व्यापारघाटा कम गर्नकालागि सम्बन्धित निकायले कार्याजनालाई कार्यान्वयनमा जोड दिनुपर्ने बताएको छ । “मन्त्रालय एक्लैले बढ्दो व्यापारघाटा कम गर्न सक्दैन,” मन्त्रालयका उपसचिव वुद्धिप्रसाद उपाध्यायले भने, “यसमा सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय उत्पादनको निर्यात बढाएर व्यापारघाटा कम गर्नु हाम्रो व्यापारघाटा न्यूनीकरण कार्ययोजनको मुख्य उद्देश्य हो ।” उनले विलासिताका वस्तुमा कर बढाएर र कम गुणस्तरका वस्तु आयातलाई नियन्त्रण गरेर व्यापारघाटा कम गर्न सकिने विकल्प रहेको बताए । कार्ययोजनमा कुन मन्त्रालयले के काम गर्ने भनेर स्पष्ट रुपमा तोकिएको छ ।
भारतीय उत्पादनको करिब ६५ प्रतिशत बजार हिस्सा नेपाल भए पनि भारतले नेपाली बजारमैत्री नीति नलिएको मन्त्रालयको गुनासो छ । मन्त्रालयका अनुसार नेपालको ६५ प्रतिशत व्यापार भारतीय वस्तुको मात्रै छ ।
गत आर्थिक वर्ष १४ खर्ब रुपैयाँ बराबरको आयात हुँदा मुलुकबाट ९७ रुपैयाँ बराबरको निर्यात भएको छ । आयात बढ्दै गएपछि सो अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकको व्यापारघाटा चुलिदै गएको छ । पुर्व सचिव पुरुषोतम ओझा बढ्दो व्यापारघाटा कम गर्नका लागि स्थानीय उत्पादन बढाएर निर्यातमा जोड दिनुपर्ने बताए । “हामीले स्थानीय स्तरमा उत्पादन गर्न सकिने वस्तु पनि आयात गरिरहेका छौ,” उनले भने, “कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न सके व्यापारघाटा कम गर्न सकिन्छ ।”
नेपालले भारतपछि अर्को छिमेकी मुलुकसँग पनि ठूलो व्यापारघाटा व्यहोरिरहेको छ । चीनबाट नेपालले १५.१ प्रतिशत वस्तु आयात गछ । त्यसअन्तर्गत गत वर्ष दुई खर्ब पाँच अर्ब ५१ करोड रुपैयाँको वस्तु आयात भएको थियो । सोही वर्ष नेपालबाट दुई अर्ब १० करोड रुपैयाँको वस्तु चीन निर्यात भएको थियो। चीनसँग मात्रै दुई खर्ब तीन अर्ब ४० करोडको व्यापारघाटा छ ।
मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीका अनुसार बढ्दो व्यापारघाटा न्यूनीकरण गर्न सरकारले ल्याएको ‘व्यापारघाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सकिए व्यापारघाटा अनुपात पाँच वर्षभित्र १०ः१ मा झार्न सकिने अवस्था छ । अहिलेको व्यापारघाटा अनुपात १५ः१ छ । व्यापारघाटा उच्च भए पनि सबैभन्दा ठूलो हिस्सा औद्योगिक कच्चावस्तुको भएकाले अर्थतन्त्र विस्तारमा सहयोगी हुने मरासिनीले बताए । व्यापारघाटा न्यूनीकरणमा ठूलासँगै मझौला तथा साना उद्योगलाई पनि अगाडि बढाउनुपर्ने उनले सुझाव दिए ।
बढ्दो व्यापारघाटा न्यूनीकरण गर्ने उद्देश्यले सरकारले जेठ १० गते मन्त्रिपरिषद्बाट स्वीकृत गराएर कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । व्यापारघाटामा महत्वपूर्ण भूमिका खेल्ने वस्तुको आयात प्रतिस्थापन गर्न नेपालमै सम्भावनाको आधारमा उत्पादन वृद्धि गर्ने, गुणस्तरहीन र विलासी वस्तुको आयातमा कडाइ गर्न भन्सार दर पुनरवलोकन गर्ने, नीतिगत सुधार गर्नेलगायत व्यवस्था कार्ययोजनामा छ ।