१ अर्ब २८ करोडको लागतमा २० हजार दर्शक क्षमताको फुटबल स्टेडियम निर्माण हुँदै

पोखरा रंगशालामा हाल निर्माण हुँदै गरेको फुटबल स्टुडिएमअन्तर्गत फुटबल मैदानमा प्रयोग हुने दुबो(घाँस) भारतको कलकोक्ताबाट ल्याइने भएको छ । उक्त फुटबल मैदान निर्माणको अन्तिम घडिमा आर्टिभिसियलबाट नेचुरल फुटवल मैदान निर्माण गर्ने निर्देशन पाएसंगै आफुहरुले पोखराको वातावरण अनुकूल हुने गरी भारतको कोलकाताबाट दुबो ल्याउने गरिएको निर्माण कम्पनीका हरिबाबु न्यौपानेले बताए ।
पोखरा रंगशालाको फुटवल मैदानभरीका लागि बर्मोडा ग्रास भारतको कोलकाताबाट ल्याउनेका लागि अग्रिम बुकिङसमेत गरिएको न्यौपानेले बताए । नेपालको बुटवलमा र भारतको कोलकातामा हेरिएको दुबो मध्य प्राविधिक र वातावरणिय हिसावले कोलकाताको दुबो पोखरामा अनुकूल हुने भएकाले उक्त दुबो ल्याउने भएको निर्माण कम्पनीका न्यौपानेले जनाए ।

उक्त दुबो भारतबाट कार्पेट जसरी रोलिङ गरेर ल्याउने र त्यसै गरी मैदानमा बिच्छाउने भएको न्यौपानेले बताए । करिब डेढ महिनाअघि नै उक्त दुबो पोखरा रंगशालाको फुटबल मैदानमा बिच्छाउने जुन दुवो एक-डेढ महिनापछि आफैं मैदानमा सर्ने भएको उनले बताए । उक्त दुबो गाडीमा लोड गरेको चौथो दिनसम्म मैदानमा बिच्छाउनु पर्ने अन्यथा दुबो मर्न सक्ने न्यौपानेले जनाए । दसैं पर्वअघि नै दुबो बिच्छाउने तयारी भएको उनले जनाए । आगामी डिसेम्बर १ देखि १० तारिख अर्थात् १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने भनिएको महिला फुटवल प्रतियोगिताको लागि आफूहरुले फुटवल स्टुडिएम निर्माण गरी दिन सक्ने गरी हाल निर्माण कार्य द्रुत गतिमा अघि बढेको न्यौपानेले जनाए । पोखरा रंगशालाको हाल फाउन्डेसनको काम भएको उनले बताए ।
उक्त प्रोजेक्ट आफूहरुका लागि अग्नि परीक्षा नै भएको दाबी गर्दै न्यौपानेले भेनु परिवर्तनको कुरा जो कसैले अब नगर्न आग्रह गरे । तोकिएको मितिमा आफूहरुले कुनै पनि हालतमा निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गर्ने उनले दाबी गरे । उनले भने, “अहिलेको जस्तो सबै क्षेत्रबाट चिन्ता र चासो भई दिएको भए हामीलाई काम गर्न धेरै सहज हुने थियो, हामीलाई विना डिपिआर काम गर्न लगाइयो पछि आर्टिफिसियलबाट नेचुरल मैदान बनाउन निर्देशन दिईयो यस्ता कारणले गर्दा हामीलाई केही कठिनाई अवश्य पर्छ ।”
डवल लग सिस्टममा निर्माण हुने उक्त प्यारापिटको आवश्यक सामग्री पोखरामा ल्याएको १५ दिनमै जडान कार्यसहितको फिनिसिङ हुने भएको उनले दाबी गरे । उनले भने, “यसमा नट बोल्ट कस्नुपर्ने हुँदैन, डबल लग सिस्टम भएकोले एक अर्कोसँग अन्तरसम्बन्ध हुन्छ, नेपालगन्जमा हालै निर्माण भएको प्यारापिटभन्दा फरक किसिमको हामीले पोखरामा बनाउँदैछौं ।” कुनै पनि हालतमा महिला फुटवल खेल पोखरामा सञ्चालन हुने गरी आवश्यक फुटवल मैदान सहितको प्यारापिट तयार गर्न आफुहरु कटिबद्ध भएको निर्माण कम्पनीका न्यौपानेले दाबी गरे ।
उनले भने, “हाम्रो कम्पनीका लागि यो एउटा अवसर हो हामीले कुनै पनि हालतमा साग गेम हुनुभन्दा केही दिनअघि सम्पूर्ण रूपमा फुटवल मैदान सहितको अन्तराष्ट्रिय प्यारापिट निर्माण गरी दिन सक्छौं, यसमा अब कसैले चिन्ता र चासो लिनुपदैन ।” राज्यका लागि उक्त मैदानको अन्य विकल्प भए पनि आफूहरुको लागि भने त्यसको विकल्प कुनै ठाउँ नभएकोले आफूहरुले रात साँझ गरेर भए पनि निर्धारित समयमा निर्माण कार्य सकेर साग गेम्स सञ्चालनको वातावरण दिलाउन सक्ने उनले जनाए ।
राखेप सदस्यसचिव रमेश शिलवाल, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मासँग आफूहरुले वचन समेत दिएकोले तोकिएको मिति भित्रै उक्त योजना सक्ने आफूहरु कटिबद्ध भएको न्यौपानेले जनाए । उनले भने, “भेनु परिवर्तन गर्ने कुनै कुरा नसोचौं, मेरो लागि यो गर्नु अपराध हो ।” आर्टिफिसियल फुटवल मैदान निर्माण गर्ने भनि गिटी विच्छायरर काम अघि बढेको अबस्थामा पुनः उठाउँदा आर्थिक भार बढेसँगै निर्माणमा केही ढिलाइ भएको उनले प्रतिकृया दिए । ६ महिनाअघि नै गेम्स हुन्छ र मेन्टीनेन्ट कस खर्चिलो हुन्छ भन्ने कुराको आधारमा आर्टिफिसियल बनाउने कुरामा सहमत भएको उनले जनाए ।
एन्फा कास्कीले गत वर्ष करिब फुटवल मैदान निर्माण गर्न करिब १० लाखभन्दा बढी खर्च भएकाले हरेक वर्ष उक्त बजेट जुटाउन कठिन हुने अवस्थाको आधारमा पनि आफूहरुले आर्टिफिसियल मैदान निर्माण गर्न दिएको सुझाव पहिलो मान्य भएको पछि एकाएक परिवर्तन हुन गएको उनले गुनासो गरे । सदस्य सचिव र मन्त्रीले प्राकृति रूपमै फुटवल मैदान आवश्यक पर्छ भनी दिएको निर्देशनअनुसार हाल नेचुरल फुटवल मैदान निर्माण गर्न लागि परेको कम्पनीले जनाएको छ ।
भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डियाले नेपालको एमए कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा निर्माण गर्न लागेको हो । १ अर्ब २८ करोडको लागतमा १८ हजार ५ सय दर्शक क्षमताको फुटवल प्यारापिट निर्माण हुने भएको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।
पोखरामा फुटवल दर्शक धेरै भएको हुनाले दर्शक क्षमता २० हजारसम्म पु-याउन निर्माण कम्पनीलाई राखेपले समेत आग्रह गरेको राखेप सदस्य राजेशकुमार गुरुङले बताए । विगत ३५ वर्षअघि निर्माण भएको पोखरा रंगशालाको फुटबल प्यारापिट गत वर्ष भत्काइएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *