दसैंपछि बोरा उत्पादन गर्ने विराटनगर जुट मिलको तयारी

नेपाल र भारतमा बिक्री गरेर वार्षिक १५ देखि २० करोड रुपैयाँ आम्दानी गर्न सकिने

पटक–पटक बन्द हुने र सञ्चालन हुने गर्दै आएको विराटनगर जुट मिल्सले दसैँपछि पुनः बोरा उत्पादन सुरु गर्ने भएको छ । नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्सले पूर्ण रूपमा बन्द भएपछि तेस्रोपटक सञ्चालन गर्दै पुनः व्यावसायिक उत्पादनको तयारी गरेको हो ।

पछिल्लोपटक १७ भदौ ०७५ देखि पुनः करिब १ सयजना कामदार नियुक्त गरेर एक सिफ्ट मिल सञ्चालन भइरहेको छ । मिलबाट गुणस्तरीय सुतलीको उत्पादन भइरहेको र दसैँपछि जुटका बोरा उत्पादन गर्ने तयारी भइरहेको विराटनगर जुट मिलका अध्यक्ष वसन्त वनले जानकारी दिए । जुट मिल्सले हालसम्म ७२ इन्चको ७ टन, ९० इन्चको १५ टन सुतली उत्पादन गरिसकेको छ ।

उनका अनुसार उत्पादित ९० इन्चको सुतली भारतमा र ७२ इन्चको सुतली स्वदेशमै बिक्री हुन्छ । जुटको सुतली र बोराका सामग्रीहरूको नेपाल र भारतमा बिक्री गरेर वार्षिक १५ देखि २० करोड रुपैयाँ आम्दानी गर्न सकिने अध्यक्ष बनले बताए ।

राणाकालीन समय ३० असार १९९३ सालमा स्थापित विराटनगर जुट मिल नेपालकै पहिलो ठूलो उद्योग हो । पूर्ण रूपमा सञ्चालन हुँदा ६ हजारभन्दा बढीलाई रोजगारी दिन सफल भएको मिल राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र अनियमितताले पूर्ण रूपमा बन्द हुन पुगेको थियो । सरकारले सञ्चालन गर्न नसकेपछि नेपालका प्रतिष्ठित अद्याोगिक घरानियाँहरू गोल्छा, राठीलगायतका समूहले लिजमा जुट मिल चलाएका थिए । तर, उनीहरूले पनि दिगो रूपले मिल सञ्चालन गर्न सकेनन् ।

जुट मिल बन्द भएपछि अलपत्र मजदुर–कर्मचारीलाई ५० करोड खर्चेर ०६६ भदौ २५ गते त्रिपक्षीय सम्झौता गरी सरकारले गोल्डेन हेन्डसेकमा बिदा गरेको थियो । त्यसपछि सधैँका लागि बन्द भएको जुट मिल ०७० तिर भारतीय कम्पनी बिमसमले सञ्चालन गर्न थालेको थियो । तर, विभिन्न समस्या देखाउँदै बिमसमले पनि पनि एक वर्ष नपुग्दै मिल बन्द ग-यो । त्यसपछि नेपाल सरकारकैतर्फबाट सञ्चालक समिति अध्यक्ष नियुक्त भंग गर्ने बताइएको थियो । तर, तामझामसहित मिल सञ्चालन गर्ने नाटक गरेर चार महिनामै मिल बन्द गरी उनी गायब भए ।

अहिले भने सरकारकैतर्फबाट नियुक्त भएका विराटनगर जुट मिल सञ्चालक समिति अध्यक्ष वसन्त बनले मिल पुनः सञ्चालन गर्न थालेका हुन् । भौतिक पूर्वाधारहरू ठीक अवस्थामा रहेकोले कच्चा पर्दाथ मात्रै खरिद गरेर जुटका सामग्री उत्पादन गरी मुनाफा कमाउन सकिने उनको दाबी छ । उनी भन्छन्, ‘दैनिक १५ देखि २० टन जुटका सामग्री उत्पादन गर्न सकेमा वार्षिक १५ देखि २० करोड रुपैयाँ सहजै नाफा कमाउन सकिन्छ ।

राणाविरुद्ध आन्दोलनको नेतृत्व गरेको ऐतिहासिक विराटनगर जुट मिलको स्वामित्वमा करिब ५ अर्ब रुपैंयाँबराबरको सम्पत्ति रहेको अनुमान छ । जुटमिलको विराटनगर रानीमा ६७ बिघा जमिनसहित मिल परिसरभित्र २ वटा ६०८ किलोवाटका पावर हाउस, एउटा टर्बाइन पावर हाउस, जुट बनाउन प्रयोग गरिने विभिन्न मेसिनहरू र एक दर्जन बढी क्वाटर हाउसलगायत भौतिक सम्पत्ति छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *