सक्रिय हुँदै अख्तियार, असोज महिनामै पप्पुदेखि बौद्धका डिएसपीसम्म फन्दामा

काठमाडौं– असोज ४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भए। घिमिरेले संसदीय सुनुवाइका क्रममा विगतभन्दा फरक शैलीमा भ्रष्टाचार वृद्धि भएको भन्दै आफू त्यसविरुद्ध कडा रुपमा उत्रने बताए।

ठेक्का, पूर्वाधार निर्माण, स्थानीय तह, यातायात व्यवस्था कार्यालय, मालपोत र नापी कार्यालयमा धेरै भ्रष्टाचार हुने गरेको उनले बताएका थिए।

घिमिरे अख्तियारको नेतृत्वमा पुगेपछि अख्तियारले ठेक्कामा बदनाम पप्पु कन्स्ट्रक्सन, करिब २ करोडभन्दा धेरै अकुत सम्पत्ति आर्जन गरेका सहरी विकासका इन्जिनियर र बौद्धका डिएसपी घुससहित पक्राउ परे।

यही महिनामा मात्र अख्तियारले २० जनालाई स्ट्रिङ अप्रेसनमार्फत घुससहित पक्राउ गरेको छ। यो अवधिमा अख्तियारले अकुत सम्पत्ति आर्जनमा १, नक्कली प्रमाणपत्रमा ६, रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा ५० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो।

अख्तियारले यातायात व्यवस्था कार्यालयका प्रमुखसहित १० जनालाई एकै पटक पक्राउ गर्‍यो। अन्य शाखाका कर्मचारी पनि विभिन्न समयमा पक्राउ परे। यातायातपछि मालपोत तथा नापी र प्रहरीहरु घुससहित पक्राउ परे। काँडाघारीमा प्रमुखसहित १० र बौद्धका डिएसपीसहित अन्य प्रहरी यो अवधिमा अख्तियारको फन्दामा परे।

यो अवधिमा ठूलो विगो भएको मुद्दा ठेक्का अलपत्र पार्दै आएको मधेसी जनअधिकार फोरम नेपालका प्रतिनिधिसभा सांसद हरिनारायाण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सन विरुद्धको अभियोग रह्यो। ठूलो कीर्ते चाहिं कम्पनी रजिष्ट्रार कार्यालयको रहेको छ।

मुख्य मुद्दाहरु

१. पप्पु कन्स्ट्रक्सनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा असोज १९ गते मुद्दा दर्ता गर्‍यो। अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार बबई पुल गुणस्तरहीन बनाएकाले निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदारसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको हो।

बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल पुप्पु कन्स्ट्रक्सनले बताएको थियो। पुल गुणस्तरहीन बनाएको भन्दै सर्वत्र विरोध भएको थियो। गुणस्तरहीन भएको गुनासो आएपछि अख्तियारले अनुसन्धान थालेको थियो।

संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका संस्थापक हुन्। उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। मुद्दा दर्ता भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ।

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको, पुल बनाउँदा नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

२. यातायातका प्रमुखसहित कम्प्युटर अपरेटसम्म एकै पटक भ्रष्टाचार मुद्दा

एक महिनाको अवधिमा २०८ वटा चालक अनुमतिपत्र परिक्षा नदिएको व्यक्तिलाई उपलव्ध गराएको अभियोगमा अख्तियारले यातायात व्यवस्था कार्यालयका १० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमतीका कर्मचारीले आर्थिक लाभ घुस रिसवत लिएर परीक्षामा फेल भएको एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी भएको आयोगको अनुसन्धानमा फेला परे पनि पहिलो पटक यातायातका एकान्तकुनाका प्रमुखसहित भ्रष्टाचार मुद्दामा तानिएका हुन्।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमती एकान्तकुना र काठमाडौं ठूलो भर्‍याङ कार्यालयबाट २०७४ माघ १ गतेदेखि फागुन २५ सम्म जारी भए गरेका कार, जिप, डेलिभरी भ्यानको सवारी अनुमतिपत्र फर्जी भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यसरी भ्रष्टाचारमा पर्नेमा तत्काल यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमती एकान्तकुनाका कार्यालय प्रमुख तेजनारायण यादव, शाखा अधिकृत ईश्वरराज रेग्मी, मेकानिकल इन्जिनियर श्याम केसी, शाखा अधिकृत भूपराज दाहाल, शाखा अधिकृत शिवप्रसाद सुवेदी, शाखा अधिकृत विष्णुप्रसाद सुवेदी थिए।

त्यस्तै यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमती, ठूलोभर्‍याङ्ग काठमाडौं कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारीलाई भ्रष्टाचार निवारण ऐनअनुसार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमती, ठूलोभर्‍याङ्ग काठमाडौं कार्यालयका कम्प्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भूषाललाई हदै सम्मको कैद र जरिवाना माग गर्दै अख्तियारले असोज २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो।

३. सहरी विकासका इन्जिनियरविरुद्ध अकुत सम्पत्ति मुद्दा

ठेक्का दिएवापत घुस लिने र उक्त घुस श्रीमतीमार्फत बैंकमा जम्मा गर्ने कार्य गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख (सिडिई) सुरेश ठाकुरविरुद्ध असोज २१ गते विशेष अदालतमा मुद्दा दायर भयो।

अख्तियारले निर्माण व्यवसायीहरुसँग बिभिन्न बहानामा रकम माग गर्ने र ठेक्का दिने गरेको भन्दै मुद्दा दायर गरेको थियो।

उनले यसरी आर्जन गरेको सम्पत्ति परिवार र आफन्तहरुको नाममा रहेको भन्दै अख्तियारले उनलाई ३ करोड १८ लाख ७३ हजार ७ सय २० विगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले ठाकुरले सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रुपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्ति श्रीमती अनिता ठाकुरको नाममा राखेकोले उनलाई पनि विपक्षी बनाइएको छ। सम्पत्ति लुकाउने कार्यमा अन्य ब्यक्तिहरू सन्तोष ठाकुर, बलराम उपाध्याय र मिनाक्षी सिन्हालाई पनि अख्तियारले विपक्षी बनाएको छ।

४. बौद्धका डीएसपी राई १ लाख ४० हजार घुससहित पक्राउ

असोज २१ गते महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी श्यामकुमार राई आफैं अख्तियारको फन्दामा परे। काठमाडौंको बौद्ध क्षेत्रको प्रमुख रहेका राई १ लाख ४० हजार रकमसहित अख्तियारको फन्दामा परेका हुन्। राईकै क्षेत्रमा जुवा खालमा छापा मार्दा दुई जनाजनाको मृत्यु भएको भोलिपल्ट उनी घुससहित पक्राउ परेका हुन्।

प्रहरी नायव उपरीक्षक राईले सेवाग्राहीसँग स्यामसङ कम्पनीको टिभी खरिद गरी ल्याइदिनु भनी जिन्सी सामानको रूपमा घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो।

५. सहन्यायाधिवक्ता घुससहित पक्राउ

उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायधिवक्ता सुरेन्द्रबहादुर थापा असोज २४ गते ५ लाख घुससहित पक्राउ परे। ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस लिंदा थापालाई अख्तियारको टोलीले पक्राउ गरेको हो। थापालाई थप अनुसन्धान गर्न काठमाडौं ल्याइएको छ।

६. टोखा नगरपालिका इन्जिनियर १ लाख घुससहित पक्राउ

अख्तियारको टोलीले टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदीलाई १ लाख घुस रकमसहित २८ गते रंगेहात पक्राउ गर्‍यो।

आयोगको टोलीले अधिकृत सुवेदीले उपभोक्ता समूहमार्फत निर्माण भएको बाटोको भुक्तानी दिनका लागि मागेको घुससहित पक्राउ गरेको हो। समितिसँग घुस लिँदै गर्दा आयोगको टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीमाथि विस्तृत अनुसन्धान भईरहेको छ।

७. बालुका घुस खाँदा प्रमुखसहित १० प्रहरी अख्तियारको फन्दामा

बालुवा व्यवसायीसँग घुस लिने काँडाघारीका प्रमुखसहित ९ जना प्रहरी अख्तियारको फन्दामा परेका छन्। भदौ ३० गते ९ जनालाई अख्तियारले घुससहित पक्राउ गरेको थियो। सोही प्रकरणमा प्रहरीेले असोज ३ गते प्रहरी नायव निरीक्षक ज्योती बिष्टलाई पनि नियन्त्रणमा लिएको थियो।

त्यसैगरी नायव निरीक्षक गोविन्द खरेल पनि सोही प्रकरणमा अख्तियारको फन्दामा परे। महानगरीय प्रहरी प्रभाग, काँडाघारी, कोटेश्वर र सानोठिमीमा कार्यरत प्रहरी कर्मचारीहरुले काँडाघारीबाट बालुवा बेचबिखन गर्ने व्यवसायीलाई विभिन्न बहाना बनाई, डर धम्की देखाई घुस लिएको पाइएपछि अख्तियारले स्टिङ अप्रेसन गरेको थियो।

अख्तियारको उक्त प्रकरणपछि उक्त क्षेत्रका सवै प्रहरीहरुको सरुवा भएका थिए भने उपत्यकाको प्रहरी कमान्डमा समेत हलचल मचिएको थियो।

८. कम्पनी रजिष्ट्रारको कार्यालयमा ७० करोडको सेयर कीर्तेमा दुई उपसचिवसहित पक्राउ

करिब ७० करोड बराबरको सेयर कीर्ते गरी अर्कै व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा अख्तियारले कम्पनी रजिष्ट्रार कार्यालयका दुई उपसचिव सहित १२ जनालाई नियन्त्रणमा लियो। यसअघि १० जना पक्राउ परेका थिए असोज १० गते उपसचिवद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अख्तियारले बबरमहलबाट नियन्त्रणमा लिएको हो।

शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको सेयर नामसारीमा सघाउने उपसचिवहरु गंगाधर पौडेल र धर्मराज रोकायालाई अख्तियारले अनुसन्धानमा तानेको थियो। भदौ २१ गत केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ ले शंकर इलेक्ट्रिकको सेयर बेचबिखनमा कीर्ते कागजपत्र बनाउन सघाउने कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकृत, सहायक रजिस्ट्रारसहित १२ जनालाई दोषी रहेको ठहर गरेको थियो।

तत्कालै कम्पनी रजिष्ट्रारका अधिकृतहरु नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटरमा रजिस्ट्रेसन गर्ने प्राविधिक शाखाका कर्मचारी आशिष महर्जन र पुष्पकला राई, मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौंका निरजकुमार मानन्धर, रामेछापका जितबहादुर मगर, काभ्रेका पुण्यप्रसाद खरेल, काभ्रेकै साइँला भन्ने राजकुमार तामाङ, हिमाल महर्जन, काठमाडौँका चिरीबाबु महर्जन, बाराका अमृत थापा मगर पक्राउ परेका थिए।

असोज १ देखि २९ गतेसम्म १५ जनाविरुद्ध अख्तियारले भ्रष्टाचारको आरोप–पत्र विशेष अदालतमा दायर गरेको छ ।

केही प्रमुख मुद्दा

असोज ७ गते अख्तियारले नापी कार्यालय धनुषामा कार्यरत जयगोविन्द यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर ग¥यो। फिल्डबुकमा जग्गाधनीको नाम कायम गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार घुससहित पक्राउ परेका थिए। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार सजाय माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।

विद्यालयको भुक्तानी दिएवापत घुस लिने जुद्ध माध्यामिक विद्यालय, गौर, रौतहटमा कार्यरत शिक्षक विरुद्ध अख्तियारले असोज ७ गते भ्रष्टाचार मुद्दा दायर ग¥यो। प्रावि शिक्षक प्रमोदकुमार ठाकुरले विद्यालय भवन निर्माण कार्य सम्पन्न गरेपछि भुक्तानी दिंदा निर्माण व्यावसायीसँग ४५ हजार घुससहित पक्राउ गरेको थियो। शिक्षक ठाकुरलाई उक्त रकम बिगो कायम गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसारको कैद सजाय माग गरेको छ ।

यातायात व्यवस्था कार्यालय, (सवारी चालक अनुमतिपत्र) सुकेधारामा बिचौलियाको कार्य गर्दै आएका अशोक कार्कीविरुद्ध अख्तियारले असोज १० गते भ्रष्टाचार मुद्दा दायर ग¥यो। अख्तियारले उनीसहित नायव सुब्बा यादव पौडेललाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको छ। उनीहरुले मिलेमतोका सवारी चालक अनुमतिपत्र बनाउने भन्दै ३२ हजार घुस लिंदै गर्दा अख्तियारले पक्राउ गरेको थियो।

नेपालीकरण गर्दा घुस लिई भ्रष्टाचार गरेको अभियोगमा असोज १४ गते अख्तियारले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, नारायणी पर्साका कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो।

यसरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले कार्यालय प्रमुख (उपसचिव) विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृतहरु कमलराज गौतम, शालिग्राम पौडेल र उमेश रेग्मी तथा तत्कालीन नायब सुब्बा अविन्दर दासविरुद्ध भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य गरेको भन्दै भ्रष्टाचार निवारण ऐनअनुसार सजाय माग गर्दै मुद्दा विशेष अदालतमा अख्तियारले दायर गरेको हो।

इलाका प्रहरी कार्यालय, मैनापोखर, बर्दियाका कार्यालय प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महत अनुसन्धान गर्नुपर्ने मुद्दामा नगर्ने सर्तमा घुस लिई भ्रष्टाचार गरेको अभियोगमा असोज २० गते भ्रष्टाचार मुद्दा दायर ग¥यो।

स्थानीय महिला सञ्जालकी अध्यक्ष मैयाँ पौडेलसँग मिलेमतो गरी अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई विभिन्न डर धम्की देखाई आफ्नो ३० हजार घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरेको थियो।

घुस लिएर निजी विद्यालयलाई अनुमति प्रदान गर्ने वीरगञ्ज महानगरपालिका शिक्षा शाखामा कार्यरत शाखा अधिकृत मन्जुर आलम र प्राविधिक सहायक शशिभूुाणप्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर ग¥यो। अख्तियारको टोलीले एक लाख घुससहित उनीहरुलाई पक्राउ गरेको थियो ।

यस अवधिमा अख्तियारले घुससहित रंगेहात १५ जनालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान गरिरहेको छ।

काठमाडौं महानगरपालिकाको कार्यालय, टेकुस्थित मिसिल शाखामा कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरी असोज ९ गते ५ हजार रुपैयासँगै पक्राउ गरेको थियो।

नापी कार्यालय बुढानिलकण्ठका सर्वेक्षक सुरेन्द्रसिंह कुँवर २५ हजार घुससहित पक्राउ गरेको थियो। वीरगञ्ज महानगरपालिका शिक्षा शाखामा कार्यरत शाखा अधिकृत मञ्जुर आलम र प्राविधिक सहायक शशिभुषणप्रसाद साहले निजी विद्यालयलाई अनुमति प्रदान गर्ने १ लाख घुस लिएको अभियोगमा असोज ६ गते पक्राउ गरेको थियो।

असोज ९ गते नापी कार्यालय, हरिऔन, सर्लाहीमा कार्यरत अमिन किशुनदेव मण्डल ९ हजार घुससहित पक्राउ परे। अंशवण्डा पत्रको लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो।

असोज १४ गते नेपाल विद्युत प्राधिकरण, काठमाडौं उत्तर वितरण केन्द्र बुढानीलकण्ठ, उपकेन्द्र बुढानीलकण्ठमा कार्यरत इलेक्ट्रिसियन २० हजार घुस सहित पक्राउ परे। इलेक्ट्रिसियन कृष्णप्रसाद शर्माले घरमा नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग घुस लिंदै गर्दा उनी अख्तियारको नियन्त्रण्मा पुगेका हुन्।

असोज १६ गते जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारी ३० हजार घुससहित पक्राउ परे।

नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले अन्सारीलाइ पक्राउ गरेको हो।

असोज १९ गते यातायात व्यवस्था कार्यालय, बागमती, सवारी चालक अनुमतिपत्र, सुकेधारा, काठमाडौंका नायव सुव्बा नवराज पराजुली घुससहित अख्तियारले पक्राउ ग¥यो। लिखित र प्रयोगात्मक परीक्षा पास गरिसकेका सेवाग्राहीलाई परीक्षामा फेल भएको भन्दै उनीहरुले ५ हजार घुस लिएपछि अख्तियारले पक्राउ गरेको हो।

असोज २४ गते अख्तियारको टोलीले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई जग्गा धितोबन्धक पास गर्ने सिलसिला घुस लिंदै गर्दा पक्राउ गर्‍यो।

उनीहरुलाई अख्तियारको टोलीले ५० हजार घुस रकम लिएको अवस्थामा निजहरुकै कार्यालयभित्रबाट नियन्त्रणमा लिएको हो।

असोज २५ गते शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख (उपसचिव) लालबाबु साह ४० हजार घुससहित पक्राउ परे। विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनको लागि घुस लिंदै गर्दा उनी पक्राउ परेका हुन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *