चाडबाडको मुखमा बजार अनुगमन तीव्र

भरतपुर । चाडबाड नजिकिँदै गर्दा उपभोक्ता ठगिन नपाऊन् भनी जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमनलाई तीव्र पारेको छ । व्यापारीहरुले चाडबाडको मौका छोपी बढी मूल्यमा सामान बिक्री गर्न सक्ने भन्दै अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

अनुगमनका क्रममा बढी मूल्यमा बिक्री गरेको पाइएमा, म्याद नाघेका सामान बिक्रीवितरण गरेको पाइएमा र अन्य सरकारी मापदण्डभन्दा बाहिर रहेर व्यवसाय गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले जानकारी दिए ।

सोही क्रममा प्रशासनले सोमबार भरतपुरको हाकिमचोकवरिपरि अनुगमन गर्दा आरसी किराना स्टोर्सले म्याद नाघेका र प्याकिङ गरिएका वस्तुमा मूल्य तथा उत्पादन मिति नै उल्लेख नभएको सामान बिक्री गरेको भेटिएको उनले बताए ।

‘उक्त पसलमा धेरै पुराना सामान बिक्री गरेको भेटिएको छ’, उनले भने, ‘अबदेखि त्यस्तो नगर्न हामीले निर्देशन दिएका छौँ । फेरि पनि यस्तै घटना दोहोरिए कारबाही गर्नेछौँ ।’ उक्त पसलबाटै नमुना परीक्षणका लागि जय माँ लक्ष्मी डेरी उद्योग वीरगन्जले उत्पादन गरेको प्रिन्स र रोयल ब्रान्डका घ्यूको नमुना संकलन गरिएको छ ।

‘पछिल्लो समय बजारमा अखाद्य वस्तु मिसावट भएका घ्यू आएको गुनासोका आधारमा परीक्षणका लागि हामीले नमुना संकलन गरेका छौँ’, खाद्य निरीक्षक तिवारीले भने, ‘उक्त घ्यू परीक्षणका लागि क्षेत्रीय खाद्य प्रयोगशाला हेटौँडा पठाउने छौँ ।’

नमुना परीक्षणको क्रममा त्रुटि भेटिएमा कानुनी प्रक्रियाअनुसार कारबाही हुने उनले बताए । यसअघि प्रशासनले आइतबार पनि भरतपुरको शिव शिखर कृषि सहकारी संस्था, भाटभटेनी सुपर मार्केटलगायत नारायणगढका केही किराना तथा कपडा पसलहरुमा अनुगमन गरेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *