साढे दुई करोडभन्दा बढी अनलाइन ठगी गर्ने गिरोह धनुषामा पक्राउ

धनुषा प्रहरीले अनलाइनमार्फत साढे २ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ। उनीहरूलाई बिहीबार सार्वजनिक गरिएको हो।

पक्राउ परेकाहरूमा धनुषाको धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा, र क्षीरेश्वरनाथ –१ का २० वर्षीय रामकुमार महरा रहेका छन्।
त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीरकुमार महतो, गौशाला–२ का १९ वर्षीय अमित साह, र सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षीय नितेशकुमार पनि पक्राउ परेका हुन्।

सामाजिक सञ्जालमार्फत ठगी
प्रहरीका अनुसार उनीहरूले इन्स्टाग्राम, टिकटक, फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा फेक एकाउन्ट र पेज बनाएर सस्तोमा मोबाइल, लत्ताकपडा लगायतका सामान दिने प्रलोभन देखाउँथे।
ग्राहकलाई अग्रिम भुक्तानी गर्न लगाई पैसा लिएपछि ब्लक गरेर सम्पर्कविहीन हुने गरेका थिए।

धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार अनुसन्धानमा उनीहरूले विभिन्न बैंक र डिजिटल वालेटमार्फत १८७ वटा खाताहरू प्रयोग गरी २ करोड ६३ लाख ९३ हजार १९२ रुपैयाँको कारोबार गरेको पुष्टि भएको छ।
उनले थपे, “पक्राउ परेका युवाहरू कुलतमा पनि संलग्न रहेका छन्।”

प्रहरीको थप अनुसन्धान जारी
ठगी कार्यमा संलग्न अन्य व्यक्तिको खोजी पनि भइरहेको प्रहरीले जनाएको छ। यस मामिलालाई साइबर अपराधको रूपमा अनुसन्धान अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *