मूल्यवृद्धिको मारमा परेका मजदूर भन्छन्– छाक टार्ने कि दसैं मनाउने?

राजविराज– दसैं–तिहार जस्ता चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र गाडीभाडा समायोजन गर्ने सरकारी निर्णयले सर्वसाधारण चर्को मूल्यवृद्धिको मारमा परेका छन् ।

केन्द्रदेखि स्थानीय तहसम्मको अनियन्त्रित करले उकुसमुकुस भइरहेका बेला पेट्रोलियम पदार्थ र गाडी भाडामा भएको मूल्यवृद्धिले सर्वसाधारणको जीवनयापन असहज भएको छ। पेट्रोलियम पदार्थ र गाडी भाडा वृद्धिको असर खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्रीमा परेको छ।

सरकारको कर, गाडी भाडा, भन्सारलगायतको बहानमा सप्तरी, सिरहा, उदयपुर, सुनसरी, मोरङ, झापालगायत पूर्वका अधिकांश जिल्लामा हरेक उपभोग्य सामाग्रीमा ३० प्रतिशतसम्म मूल्यवृद्धि गरिएको छ।

दाल, चामल, तरकारीलगायतका सामानमा एक्कासि भएको मूल्यवृद्धिले किनेरै खानुपर्ने तथा मजदूरी गरेर जीविकोपार्जन गरिरहेका व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन्। सम्बन्धित निकायले बजार नियन्त्रण गर्न नसक्दा निम्नवर्गका व्यक्तिहरुलाई छाक टार्नसमेत समस्या हुन थालेको राजविराज नगरपालिका– १३ का मजदूर रामदेव यादवले गुनासो गरे।

‘अधिकांश पसलमा मूल्य सूची छैन, भए पनि लेखिएको मूल्यमा सामान पाइँदैन,’ यादव भन्छन्, ‘यो समस्या हामीले कसलाई सुनाउने?’ बजार अनुगमन गर्ने निकाय पनि सर्वसाधारणको समस्या समाधान गर्ने भन्दा व्यापारीकै पक्षमा देखिएको उनको भनाइ छ।

‘अनुगमनकर्ताले व्यापारी÷व्यवसायीको कमजोरी नभेट्ने पनि होइन,’ उनी थप्छन्, ‘तर कारबाही गरेर बजार नियन्त्रण गर्नेतर्फ उनीहरुको सक्रियता छैन। सचेत गराउने बहानामा वर्षांैदेखि गलत गर्ने व्यापारीलाई पनि छुट दिंदै जाँदा हामी चाहिं मर्ने भयौं।’

मूल्यवृद्धिसँगै आवश्यकता पनि बढ्दै जाने तर आम्दानी नबढ्ने समस्याले न्यून आम्दानी गर्ने समूह भोक–भोकै हुनुपर्ने अवस्था आएको रुपनी गाउँपालिका– ६, विरेन्द्र बजारबाट काम खोज्दै राजविराज आएका अर्जुन साह बताउँछन्।

‘दसैं लागेपछि सबैजना पर्वमा व्यस्त हुन थाले, अब त काम पनि पाउन छाड्यो,’ साहको गुनासो छ, ‘दसैं मनाउने कुरा त हुनेखानेका लागि मात्रै हो, हामीलाई त छाक कसरी टार्ने भन्ने समस्या छ।’

मजदूरीकै भरमा आफूसहित ४ जनाको परिवार पाल्दै आए पनि काम पाउन छोडेपछि राजविराजसम्म आउनु परेको उनले बताए।

राजविराज– १४, प्रसाहीका जिवछ राम पनि यस्तै गुनासो गर्छन्। ‘केही समयअघिसम्म मजदूरको ज्याला ६ सय थियो,’ उनी भन्छन्, ‘पछिल्लो समय काम पाउन छोडेपछि ३÷४ सयमै पनि जानुपर्ने अवस्था छ।’ काम नपाउने, पाए पनि ज्याला कम हुने तर बजारमा सामानको भाउ दिनप्रतिदिन बढ्दै जाने समस्याले न्यून आम्दानी भएका मजदूरको कन्तविजोग भएको राम बताउँछन्।

अर्जुन र जिवछ जस्ता करिब २ सय ५० मजदूर कामको खोजीमा विभिन्न स्थानबाट दैनिक रुपमा सदरमुकाम राजविराजमा जम्मा हुने गरेका छन्। ‘न काम छ, नत सन्तोषजनक ज्याला,’ सबै मजदूरको एउटै भनाइ छ, ‘हामीले छाक टार्ने की दसैं मनाउने?’

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले सर्वसाधाराको सुरक्षाका लागि बजार अनुगमन निरन्तर चलिरहेको बताएका छन्। ‘लेवल नभएका र म्याद गुज्रेका समान पसलबाट निकालेर तत्कालै नष्ट गर्ने गरेका छौं,’ उनले भने, ‘मूल्य सूची नराख्ने, गलत काम गर्नेलाई सचेत गराउने र स्पष्टीकरण सोध्ने काम पनि भइरहेकै छ।’

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *